INSEC Online

📅 २०८३ जेष्ठ २१

भवन अभावका कारण सेवाग्राहीहरु खुला मैदानमै उपचार सेवा लिन बाध्य

कमलबजार नगरपालिका–९ मष्टावण्डालीको स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु गरिएको १० वर्ष वितिसक्दा समेत भवन निर्माण कार्य सम्पन्न हुँन नसकेपछि सेवाग्राहीहरु खुला मैदानमै उपचार सेवा लिन बाध्य भएका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग, डोटीले २०६९ सालमा दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी डोटी जिल्लाका निर्माण व्यावसायी छत्र कठायतसँग सम्झौता गरेको भएपनि १० वर्ष वितिसक्दा समेत स्वास्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न नहुँदा सेवाग्राहीहरु खुला मैदानमा उपचार सेवा लिन बाध्य भएका हुन् ।

समयमै स्वास्थ्य चौकी भवन निर्माण नगरिएका कारण यहाँका स्थानीय सेवाग्राही खुला मैदानमै बसेर स्वास्थ्य सेवा लिन बाध्य भएको र स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाह गर्न समस्या भएको स्थानीय शिक्षक कासीराम बजगाईले बताउनु भयो ।

भवन अभावका कारण बाहिर मैदानमै राखेर बिरामीको उपचार गर्नु पर्ने बाध्यता रहेको स्वास्थ्य चौकी इन्चार्ज कमला खड्काले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकी भवन निर्माणमा ढिलाई भएको कारण पुरानो, साँघुरो र कच्ची तीन कोठे भवनबाट उपचार, औषधि र प्रशासनिक काम गर्न निकै समस्या भएको छ । बिरामी जाच्ने, औषधि दिने र प्रशासनिक कार्य एउटै कोठाबाट गर्नु पर्ने बाध्यता रहेको छ ।’

भवन अभावमा स्थानीय नागरिकले सहज र प्रभावकारी सेवा लिन नसकेपछि भवन निर्माणको ठेक्का लिएका निर्माण व्यावसायीलाई काम सम्पन्न गर्न दबाव दिएपनि निर्माण व्यवसायीले आलटाल गरिरहनु भएको कमलबजार नगरपालिका–९ का वडाध्यक्ष दुर्गाप्रसाद बजगाईले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘दश वर्ष अगाडीदेखि निर्माण कार्य सुरु गरिएको हो । निर्माण कार्य सम्मन्न नहुँदै भवन जिर्ण भइसकेको छ । निर्माण कार्य तत्काल सम्पन्न गर्न भनेका छौँ । अब ढिलासुस्ती गरिएको खण्डमा कार्वाहीका लागि कानुनी प्रक्रियामा जाने तयारी गरिरहेका छौँ ।’

photo20220212Achham

अन्य

भिडियो