INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुन कार्यान्वयन नहुँदा नागरिक अधिकार ओझेलमाः सरोकारवाला

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सुवर्ण कर्मचार्यले कानुन कार्यान्वयन नहुँदा जनताका अधिकारहरू ओझेलमा परेको बताएका छन् । आयोगले चैत १५ गते गाईघाटमा आयोजना गरेको ज्येष्ठ नागरिकको मानव अधिकार अवस्था अनुगमन र अन्तरक्रिया विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कर्माचार्यले ज्येष्ठ नागरिक मात्र नभई जनताका अधिकारका सवालमा बनेका नीति नियम कार्यान्वयन नहुँदा सबै नेपाली अधिकारबाट वञ्चित भएको भन्दै नीति नियम र कानुनको कार्यान्वयनमा जोड दिए । उनले विभिन्न वहानामा जनताका अधिकारमाथि हस्तक्षेप बढिरहेको वर्तमान सन्दर्भमा आयोगले राज्य पंक्षलाई बेलामौकामा झक्झक्याउने काम गरिरहेको बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाले कानुन कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिक अपमानित हुनु परेको बताए । उनीहरूले ज्येष्ठ नागरिकसम्बन्धी कानुन मजवुद भएपनि कार्यान्वयन तह फितलो हुँदा आफूहरू सेवासुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् ।

ज्येष्ठ नागरिक मञ्च उदयपुरका महासचिव निगम कोईरालाले यातायात र औषधि उपचारमा राज्यले ५० प्रतिशत छुटको व्यवस्था गरेपनि कार्यान्वयनमा नल्याएको आरोप लगाए । ‘सबै सवारी साधनमा ज्येष्ठ नागरिक सिटको व्यवस्था गरिएको छ ।’-कोईरालाले भने-‘बस्ने बेलामा नौ जवान युवायुवती बस्छन् ।’

उनीहरूले सामाजिक सुरक्षा भत्ता बैङ्कबाट वितरण गर्ने प्रकृया झञ्झटिलो भएको, वितरण गरेको रकममा घरझगडा हुने भएपछि ज्येष्ठ नागरिकले घर खर्च टार्ने व्यक्तिलाई बुझाउनु परेकोलगायतका समस्या राखेका थिए ।

अन्य

भिडियो