घरेलु हिंसा पीडित भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मिनाकुमारी गन्धर्वको उपचारमा इन्सेकद्वारा सहयोग गरिएको छ ।
पीडितलाई २४ वर्षीय छोरा विक्रम गन्धर्वले माघ २५ गते साँझ निर्घात कुटपिट गरेपछि मानव अधिकार समुह भानु नगरपालिकाकी सदस्य तुलसी गैरेले बृद्धालाई घरबाट उद्धार गरी भानु स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाउनुभएको थियो ।

सोही दिन भानु नगरपालिका–१ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समुहकी सदस्य तुलसी गैरे लगायतले आरोपितविरुद्ध कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरेको थियो ।

आरोपित छारे रोगी भएको भन्दै उनलाई दैनिक तारेखमा आउने गरी माघ २६ गते रिहा गरेको भएपनि पीडितको सुरक्षाको लागि नयाँबस्तीमा रातको समयमा निरगानी बढाइने इलाका प्रहरी कार्यालय भानुका इन्चार्ज प्रकाश भुषालले बताउनुभयो ।
कुटपिटबाट घाईते भएकी पीडितको टाउको, ढाँड र खुट्टमा चोट लागेको छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र घरमा अन्य सदस्य समेत नभएको हुँदा उपचारको लागि सहयोग गर्न इन्सेक तनहुँलाई पीडितका देवर गम्भीर गन्धर्वले माघ २६ गते लिखित अनुरोध गर्नुभएको थियो ।

सोही निवेदन अनुरुप पीडितको थप उपचारको लागि इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले माघ २६ गते ५ हजार रुपियाँ उपलब्ध गराउनुभएको थियो ।