हिमपातले जिल्लाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरूद्ध भएको छ ।
हिमपातलका कारण माघ १९ गते देखि भोटखोला जाने सडक अवरूद्ध भएसँगै भोटखोला क्षेत्रमा खाद्यान्न सङ्कट सुरू भएको भोटखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताउनु भयो । सडक अवरूद्ध भएपछि भोटखोलाको किमाथाङ्का,रिदाक, छुम्सुर, थुदामलगायतका क्षेत्रमा खाद्यान्न सङ्कट भएको प्रशासकीय अधिकृत भोटेको भनाइ छ ।
चार फिटसम्म हिउँ परेका कारण आवतजावत गर्ने सडक अवरूद्ध छ । सडक अवरूद्ध भएपछि भोटखोला गाउँपालिकाको विभिन्न क्षेत्रमा खाद्यान्न सङ्क निम्तिएको छ ।
भोटखोला गाउँपालिका– १ को किमाथाङ्काका १ सय १६ घर,वडा–२ को थुदामका १६ घर, रिदाकका ७७ घर र छुम्सुरका २२ घरपरिवारका लागि खाद्यान्न सङ्कट भएको प्रशासकीय अधिकृत फुर्पु भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
खाद्यान्न सङ्कट भएका २ सय ३१ घरपरिवारका लागि तत्काल खाद्यान्न उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभा र गृह मन्त्रालयमा समेत पत्राचार गरिसकेको प्रशासकीय अधिकृत भोटेले बताउनु भयो ।
हिमपातले जनजीवन कष्टकर भई तत्काल खाद्यान्न ढुवानी गर्न नसकिने भएको प्रशासकीय अधिकृत भोटको भनाइ छ । गाउँपालिकाले एक महिनाका लागि खाद्यान्न चामल, पिठो, तेल, दाललगायतका सामग्री हेलिकप्टरमार्फत ढुवानीका जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई पत्राचार गरिसकेको प्रशासकीय अधिकृत भोटेले बताउनु भयो ।
लगातारको हिमपातले सदरमुकाम खाँदबारी आउन र चीनतर्फ जाने सडक अवरूद्ध भएको छ । हिमपातले स्थानीयले लगाएको अन्नबाली समेत पुरिएको स्थानीयले बताएका छन् । त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको स्थानीयको भनाइ छ ।
कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भन्दै चीनले किमाथाङका नाका प्रवेश गर्ने चीनको देन्दाङ र चाँगा बजार प्रवेश गर्ने नाका दुई वर्ष अघिदेखि बन्द गरेको छ ।
भोटखोला गाँपालिकामा खाद्यान्न ढुवानीका लागि गृह मन्त्रालयमा जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नुभयो– हामीले खाद्यान्न समस्या भएका गाउँको विवरण र घरपरिवार सङ्ख्या गाउँपालिकासँग माग गरेका छौ, त्यही अनुसार नै माथिल्लो निकायसँग अनुरोध गरेर खाद्यान्न ढुवानीको व्यवस्था मिलाइने छ ।
सडक सञ्जाल नभएका कारण भोटखोलामा खाद्यान्न ढुवानी गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ ।
भोटखोलामा गत वर्ष समेत हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको थियो । भौगोलिक रूपमा निकै विकट मानिएको भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच अहिले पनि पुग्न सकेको छैन । किमाथाङ्का सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दुरीमा पर्दछ ।
