सल्यानका स्वास्थ्य संस्थामा रेबिजविरूद्धको सुईको अभाव भएको छ । कुकुर तथा अन्य जनावरले टोकेका बिरामीलाई लगाइने रेबिजविरूद्धको सुईको अभाव भएपछि बिरामीहरूले निजी क्लिनिकमा पुगेर चर्को शुल्क तिर्नुपरेको गुनासो गरेका छन् । रेबिजविरूद्धको सुई जिल्लामा अभाव भएपछि बिरामीहरू मर्कामा परेका हुन् ।
सरकारले स्वास्थ्य संस्थामार्फत रेबिजविरूद्धको सुई निशुल्क रूपमा उपलव्ध गराउँदै आएको छ । शारदा नपा-११ हिवल्चाका सुरेश खड्काले आफू रेबिजविरूद्धको सुई लगाउन जिल्ला अस्पताल पुगेको भएपनि सुईको अभाव रहेको जानकारी पाएपछि अन्यत्र जानु परेको बताए ।
जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र थारमारेबाट रेबिजविरूद्धको सुई निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि डेढ महिनादेखि अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
प्रत्येक महिना जिल्लामा १ सयदेखि २ सय जनासम्म बिरामीहरू रेबिजविरूद्धको सुई लगाउन आउने गरेकोमा सुई अभाव हुँदा बिरामीहरू रित्तो हात फर्कन बाध्य भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. मनीषा रावलले बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालयले पटकपटक क्षेत्र तथा केन्द्रमा औषधिको माग गरेपनि हालसम्म पाउन नसकेको उनले बताइन् ।
‘हामीले जिल्लामा रेबिजविरूद्धको सुईको जिल्लामा अत्याधिक माग रहेको र अभाव रहेको पटकपटक जानकारी गराएका छौँ ।’-उनले भनिन्-‘तर, माथिल्लो निकायबाट चैतको अन्तिमसम्ममा पठाउने जानकारी आएको छ ।’