राष्ट्रिय महिला आयोगको टोलीले बोदे बसाईन नगरपालिका–१ धनगढीमा आगोले जलाएर महिलाको हत्या गरिएको घटनाको माघ २४ गते अनुगमन गरेको छ ।
आयोगकी अध्यक्ष कमला पराजुली र सदस्य जया घिमिरेसहितको टोलीले घटनाको विषयमा पीडितको घर पुगी मृतकका पति, छोराछोरीलगायत परिवारका सदस्यहरू, गाउँले छिमेकी, वडा अध्यक्ष धिरेन्द्रकुमार यादव र एसपी अविनारायण काफ्लेसँग भेटेर घटनाको बारेमा जानकारी लिएको छ ।
अध्यक्ष पराजुलीले मृतकका पति रविनकुमार साहसँग दोषीलाई कानुन बमोजिम कारवाही गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यस्तै उहाँले एसपी काफ्लेलाई सुक्ष्म ढङ्गले तिव्रताका साथ अनुसन्धान गरी आरोपितलाई नियन्त्रणमा लिन आग्रह गर्नु भयो ।
मृतककी दुई वर्षीया छोरी र आठ वर्षीय छोरा छन् । सिरहाको लहानस्थित एक निजी विद्यालयमा एलकेजीमा अध्ययनरत छोरा आमाको क्रियामा बसेको टोलीले जानकारी दियो ।
दुई वर्षीया छोरीले निरन्तर आमाको खोजी गरेपछि बोदे बर्साइन नगरपालिका–६ स्थित मामाघर पठाएको मृतकका पतिले बताउनु भयो ।
बोदे बर्साईन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई माघ २१ गते बिहान घरमा खाना पकाइरहेका बेला २१ वर्षीय देवर प्रमेश्वर साहले पेट्रोल छर्केर आगोले जलाएको आरोप छ ।
जलेर घाइते भएकी पीडितको उपचारका क्रममा माघ २३ गते राति विराटनगरमा मृत्यु भएको थियो । शवको पोष्टमार्टमा कोशी अस्पतालमा माघ २४ गते गरिएको छ ।
