जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट प्रयोग विहिन अवस्थामा रहेपछि यस क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको छ ।
कोभिड–१९ सङ्क्रमणको तेस्रो भेरियन्ट समुदायस्तरमा देखिन थालेपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको भएपनि विद्युत प्रवाहको लागि चाहिने ट्रान्सफर्मरको व्यवस्थापन हुन नसकेपछि अक्सिजन प्लान्ट प्रयोग विहन भएको हो ।
जिल्ला अस्पतालमा विद्युत आउने जाने समस्याले बिरामीहरुले सास्ती खेप्नु परेकोले जतिसक्दो चाँडो नियमित बत्तिको व्यवस्था गर्नु पर्ने स्थानीय धौली सामन्तले बताउनु भयो ।
अस्पतालजस्तो सम्वेदनसिल ठाउँमा नियमित विद्युत नहुँदा सम्पूर्ण सेवाग्राहीले समस्या भोग्नु परेको अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष दलजीतसिंह धामीले बताउनु भयो ।
‘विद्युतको लागि हामीले पहिलेदेखि पलह गरेका हौं .,’ उहाँले भन्नु भयो, ‘तर विद्युत आपुर्तिमा नेपाल विद्युत प्राधिकरणले अस्पतालको लागि मात्रै ट्रान्सफर्मर उपलब्ध गराउन नसक्ने नजाएपछि समस्या भएको हो ।’

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघको पहिलो साता अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको भएपनि प्लान्ट सुचारु गर्नका लागि आवश्यक पर्ने विद्युत आपुर्तिको व्यवस्था हुन नसकेपछि प्रयोग विहिन अवस्थामा रहेको जिल्ला अस्पतालका डाक्टर पुजा बमले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले अस्पतालमा २५ केभी भोल्टेज क्षमताको लागि ट्रान्सफर्मर जडान गरिएको छ । तर, अक्सिजन प्लान्ट सुचारु गर्नका लागि ३६ केभी क्षमताको टा«न्सफर्मर चाहिन्छ । यसका लागि १० लाख रुपियाँ बजेट आवश्यक पर्छ । आवश्यक बजेटको व्यवस्था गर्न मन्त्रालयमा पत्रचार गरिएको छ । विद्युत आपुर्तिको समस्या भएपछि ट्रान्सफर्मर प्रयोग विहिन भएको हो ।’
बिरामीको अप्रेशन गर्दागर्दै विद्युत जाँदा बिरामीको अप्रेशन बिग्रन सक्ने र थप समस्या हुन सक्ने भएकोले जिल्ला अस्पतालमा रहेका अन्य उपकरणहरु चलाउदा जेनेरेटर चलाउनु पर्ने बाध्यता रहेको अस्पतालका नायब सुब्बा अनिलसिंह डाँगाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘ अस्पतालसँग बजेट नभएको कारण माघ १२ गते सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयलाई ट्रान्सफर्मर खरिदको लागि बजेटको व्यवस्था गर्न पत्रचार गरेका छौँ । तर, सुनवाइ हुन नसकेको छैन् । विद्युत समस्या भएपछि वैकल्पिक उपाय अपनाउदा खर्च धान्न समस्या हुने गरेको छ ।’
अस्पतालमा रहेका तीन ओटा एक्सरे मेसिनमध्ये दुई ओटा मेसिनहरु लामो समयदेखि बिग्रिएर मर्मत हुन नसकेपछि बिरामीको चेकजाँचमा समेत समस्या हुने गरेको डाक्टर आर्दश लिम्बुले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘एउटा मर्मत गरेर काम चलाउ भएको छ । दुई ओटा मर्मत अभावमा प्रयोगमा ल्याउन सकिएको छैन् ।’ अस्पतालको अल्ट्रासाउण्ड मेसिन भर्खर मात्र मर्मत गरेर प्रयोगमा आएको छ ।
जिल्ला अस्पतालमा दुई वर्ष अघि सुदूरपश्चिम प्रदेश सरकारले कोभिड लक्षित गर्दै दुई ओटा भेन्टीलेटर सहित आइसियु वेड जडान गरेको भएपनि जनशक्ति अभाव र विद्युत आपुर्तिको समस्याले प्रयोगमा आउन सकेका छैनन् ।
