INSEC Online

📅 २०८३ जेष्ठ २१

मन्त्री यादवको अभिव्यक्ति प्रति आयोगको गम्भीर ध्यानाकर्षण

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले दिएको अभिव्यक्ति एवम् यसबाट सिर्जित अवस्था प्रति राष्ट्रिय मानव अधिकार आयोगले ०७८ माघ २० गते एक विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा गत माघ ५ गते समाजवादी युवा सङ्घले रौतहटको गौरमा आयोजना गरेको सभामा दिएको अभिव्यक्ति र यसबाट सिर्जित उक्त घटनाको विषयलाई लिएर माघ २० गते मन्त्री यादवलाई आयोगमा बोलाई जानकारी लिएको उल्लेख गरिएको छ ।

जानकारी लिने क्रममा मन्त्री यादवले श्रद्धाञ्जली सभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसै प्रति लक्षित र पूर्वाग्रही नरहेको बताएको आयोगले जनाएको छ ।

हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा सचेत रहेको मन्त्री यादवले जानकारी गराउनुभएको थियो ।

आयोगका अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल् पुर्‍याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने बताउनु भएको थियो ।

साथै राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशन दिइएको आयोगले उल्लेख गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने आयोगले स्मरण गरेको छ ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा चोट पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने र जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमन चयन खल्बलिने खालका अभिव्यक्ति भविष्यमा नदिन मन्त्री यादवलाई आग्रह गरिएको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो