INSEC Online

📅 २०८३ जेष्ठ २१

एम्बुलेन्सबाट थुतेर घाइते प्रहरीको हत्या प्रकरणः घटनामा संलग्न १९ जना ‘फरार’ आरोपितको सम्पति रोक्का गर्न आदेश

मधेस आन्दोलनको क्रममा घाइते असई थमनबहादुर बिकलाई उपचारको लागि जनकपुरधाम लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले कुटपिट गरेको घटनामा संलग्न रहेका र हालसम्म गिरफ्तारीमा नपरेका १९ जना आरोपितहरूको सम्पति रोक्का गर्न महोत्तरी जिल्ला अदालतले माघ १८ गते आदेश दिएको छ ।

मधेश आन्दोलनको बेला ०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत असई थमनबहादुर विकलाई एक्लै पाएर आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा कुटपिट गरेका थिए ।

आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते बिकलाई उद्धार गरी उपचारका लागि जनकपुरधाम लैजाने क्रममा महोत्तरी गाउँपालिकाको सोनउखरा भन्ने स्थानमा एम्बुलेन्सबाट थुतेर निर्घात कुटपिट गर्दा उनको त्यहि ठाउँमा मृत्यु भएको थियो ।

सोही घटनामा संलग्न रहेको तर हालसम्म गिरफ्तारीमा नपरेका १९ जना आरोपितको सम्पति रोक्का गर्न महोत्तरी जिल्ला अदालतले आदेश जारी गरेको स्रेस्तेदार मदन जयसवालले जानकारी दिनु भयो ।

प्रेमबहादुर बिकको उजुरीले नेपाल सरकार तथा विकी साह समेत आरोपित भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले कौशलकुमार यादव, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, अनिल ठाकुर र विकी साहको सम्पति रोक्का राख्न आदेश जारी भएको स्रेस्तेदार मदन जयसवालले बताउनु भयो ।

महोत्तरी जिल्ला अदालतको आदेशानुसार उल्लिखित आरोपितहरूको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको तर हालसम्म गिरफ्तारीमा नपरेका र अदालतमा उपस्थित समेत नभएको देखिएको हुँदा उनीहरूको अंश हकमा रहेको अचल सम्पति मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ (१५) एवम् दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का राख्न आदेश दिइएको हो ।

यसै घटनामा संलग्न रहेको ओरोपित प्रदेश–२ का तत्कालिन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा ०७५ साउन २८ गते र जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे ०७५ साउन २९ गते साधारण तारेखमा रिहा भएका थिए । उनीहरूमाथि पनि बिक हत्या प्रकरणको मुद्दा चलिरहेको छ ।

अन्य

भिडियो