माघ १५ गते ३ हजार ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ १५ गते परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार १ सय १ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३ सय ६० जना निको भएका छन् । माघ १५ गते ५ हजार ९ सय २४ जना निको भएका छन् भने निको हुनेको दर ८९.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १५ गतेसम्म ११ हजार ७ सय ३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ १५ गते ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३ सय २९ रहेको छ ।
मन्त्रालयका अनुसार माघ १५ गते ४ हजार ४ सय ६१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ हजार ५ सय ८६ जनालाई कोभिड पुष्टि भएको छ । माघ १५ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख २६ हजार ४ सय ४४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ १५ गतेसम्म १ करोड ४० लाख १५ हजार ३ सय २४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि कार्यालयले अत्यावश्यकबाहेकका सेवा माघ २१ गतेसम्मका लागि बन्द गरेको छ । कार्यालयले माघ १४ गते सूचना जारी गर्दै माघ १६ गतेदेखि माघ २१ गतेसम्म अत्यावश्यबाहेकका सेवा बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्ला न्यायाधीश सहित अदालतमा कार्यरत कर्मचारीहरुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला अदालत बागलुङले माघ १६ गतेदेखि माघ २५ गते सम्मको अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा स्थगन गरेको छ ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार प्रमुख जिल्ला अधिकारी म्याग्दी चिरञ्जीवि रानाले माघ १५ गते सूचना जारी गर्दै माघ १५ गते रातको १२ बजेदेखि माघ २९ गतेसम्म जिल्लाभर निषेध आदेश जारी गरेका छन् ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ १६ गते देखि अर्को आदेश जारी नभएसम्म निषेध आदेश जारी गरेको छ ।