INSEC Online

📅 २०८३ जेष्ठ २१

महोत्तरीको भंगहा गाउँपालिकाको बोर्डमा आगजनी, कार्यालयमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ९ गते महोत्तरीको भंगहा गाउँपालिकाको साइनबोर्ड झिकेर आगजनी गर्दै कार्यालयमा तालबन्दी गरेका छन् ।

निर्वाचन अगावै संविधान संशोधन गरे मात्र चुनावमा भाग लिने जनाउँदै मधेसी मोर्चाले निर्वाचनको विरोधमा भंगहा गाउँपालिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गएको चैत ३ गते एक समारोहकाबिच भंगहा गाउँपालिकाको बोर्ड झुण्डाएर गाउँपालिका कार्यालयको शुभारम्भ गरिएको थियो ।

मधेसी मोर्चाले विरोध गरेपछि निर्वाचन आयोगको कार्यालय महोत्तरीले स्थानीय निर्वाचन प्रयोजनको लागि जिल्लामा मतदानस्थल थप गर्न बोलाइएको चैत ९ गतेको बैठक समेत स्थगित भएको छ ।

स्थानीय निर्वाचन प्रयोजनका लागि थप २७ ओटा नयाँ मतदानस्थल कायम गर्नुपर्ने भएकाले निर्वाचन कार्यालय महोत्तरीले सर्वदलीय बैठक बोलाएको जनाएको थियो ।

बैठकमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले मधेसको माग पुरा नहुञ्जेल आफूहरू निर्वाचनमा भाग नलिने भन्दै विरोध गरेपछि बैठक स्थगित गर्नु परेको निर्वाचन अधिकृत पिंकी रायले बताइन् ।

मधेसी मोर्चाले निर्वाचन अगावै संविधान संशोधन गरे मात्र आफूहरू चुनावमा भाग लिने भएकाले त्यस अघि हुने स्थानीय तहको निर्वाचन तयारीको अन्य काममा पनि विरोध जनाउने सद्भावना पार्टीका नेता सुदिप झाले बताए ।

सद्भावना पार्टीका नेता झाले हाम्रो माग पुरा नहुञ्जेल महोत्तरीमा निर्वाचन सम्बन्धि तयारीको कुनै पनि काम गर्न नदिने बताए । झाले भने-‘स्थानीय तहको निर्वाचनकै अबरोध स्वरुप महोत्तरीको १२ गाउँपालिका र तीन नगरपालिकामा समेत तालाबन्दी लगायत विरोधका कार्यक्रम सञ्चालन गरेका छौँ ।’

महोत्तरीमा यसअघि पुरानो २ सय ३३ मतदान केन्द्र कायम रहेको थियो तर स्थानीय तह पुनःसंरचना अनुसार २७ वटा नयाँ मतदान केन्द्र थप्नु पर्ने आवश्यक देखिएकोले दलीय सहमतिको लागि बैठक बोलाएको निर्वाचन अधिकृत रायले बताएकी छन् ।

सर्वदलीय सहमति हुन नसकेपछि बैठकमा उपस्थित मधेसी मोर्चा, नेपाली कङ्ग्रेस, एमाले, एकीकृत माओवादी केन्द्रलगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरूकै सहमतिमा बैठक स्थगित गर्ने निर्णय गरिएको उनले बताएकी छन् ।

आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तोकिए वमोजिम नै आवश्यक तयारी गर्नुपर्ने भएकाले मतदानस्थल थप गरेर टुङ्गो नलगाएसम्म थप तयारी गर्न गाह्रो पर्ने अधिकृत रायले बताइन् ।

वैठक स्थगित भएको बारे निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको र त्यहाँबाट प्राप्त निर्देशन अनुसार निर्वाचन तयारीको अन्य कामकाजहरू भने अगाडि बढाइने उनले जानकारी दिएकी छन् ।

अन्य

भिडियो