साँगुरीगढी गाउँपालिका–५ तुँखाका ४५ वर्षीय गङ्गाप्रसाद याखाले विगत एक महिनादेखि राम्ररी सुत्न पाउनु भएको छैन । जताततै जमिन चिरा पर्न थालेपछि उहाँ त्रासको वातावरण सिर्जना भएको बताउनु हुन्छ । ‘राती केही पड्किएको आवाज आयो।’ उहाँले भन्नुभयो, ‘एकछिन त के भएको हो थाहा भएन तर, पछि राम्ररी घुमेर हेरेको घरको आँगनमा चिरा परेको रहेछ ।’ घर, आँगन र खेतबारीहरू चिरापर्न थालेपछि स्थानीय रातभरी राम्ररी सुत्न नसकेको याखाको भनाइ छ ।

चुरे पहाडको फेदीमा रहेको तुँखाको याखा गाउँ सुख्खा पहिले चिराचिरा परेर बिस्तारै बगिरहेको छ । वि.स. ०७४ सालबाट हिउँदको समयमा अचानक ठाउँठाउँमा सेतो लेदोसहितको पानीको फुटेको देख्दै आएकाले असोजमा परेको मुसलधारे पानीले पनि केहि जमिनहरू चर्कंदा स्थानीयले त्यसलाई सामान्य रूपमा लिएका थिए ।
वि.स. ०७४ सालबाट हिउँदका समयमा पटक–पटक गाउँमा हरेक वर्ष धमिलो सेतो पानीको मुहान निस्किएर सामान्य जमिन फाटे पनि यो पटक भने बस्ने अवस्था नभएको तुँखा गाउँका स्थानीय ४८ वर्षीय बिष्णुप्रसाद याखाले बताउनु भयो । ‘घर आँगन चिरा परेपछि कतिपय गाउँलेहरू आफन्त र घर भाडा लिएर बस्न थालेका छन ।’,उहाँले भन्नुभयो । राई याखा जातिको बाहुल्यता रहेको साँगुरीगढी गाउँपालिका–५ तुखाँमा अहिले खेतीपाति लगाउन,जीवनयापन गर्न गाउँलेहरूमा अन्यौलता छाएको विष्णुप्रसाद याखाको भनाइ छ ।

तुखाँ गाउँबाहेक आफूहरूको अन्यत्र कतै जमिन नभएकाले पहिरोले बग्दै गरेको जमिन र घरमा बाध्यताले बस्न परेको तुँखा लाले टोलकी ५९ वर्षीया धनकुमारी याखाले गुनासो गर्नुभयो ।‘दिउँसै कतिबेला बगाउने हो थाहा छैन ।’ उहाँले भन्नुभयो, ‘कति बस्नु राती जागो ? निन्द्रा लागेपछि मर्न डरै हुन्न रैछ ।’ गाउँमा यो वर्ष काहीँ पनि डोजरजस्ता उपकरण प्रयोग नगरिएको,तर जमिन धाँजा परेर फाटेको धनकुमारीको भनाइ छ ।

मोरङ्ग र धनकुटाको सिमानामा अवस्थित भेडेटार राजारीनी चुरे खण्डको डाँडाबजारबाट दुई किलो मिटर दक्षिण पूर्वमा रहेको धनकुटाको यो गाउँ गएको असोज ६ गतेको वर्षापछि चर्किएको थियो । गाउँमा यो वर्ष अन्न उत्पादन भएपनि जमिन चिराचिरा परेकाले अब खेती लगाउन नसक्ने भएपछि खाद्य सङ्कटको अवस्था आउने स्थानीयको भनाइ छ । गाउँमा धान, मकै र कोदो खेती हुन्छ ।
तुँखाका ७० परिवारले साँगुरीगढी गाउँपालिका वडा–५ कार्यालयमा गत कात्तिक ७ गते र जिल्ला प्रशासन कार्यालयमा कात्तिक १४ गते सुरक्षित आवासको निवेदन दिएको भएपनि सुनुवाई नभएको गङ्गाप्रसाद याखाले बताउनु भयो । उहाँले वडाध्यक्ष एक, दुइ पटक हेर्न आउनु भएको भएपनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र जिल्ला प्रशासनबाट हेर्न पनि नआएको बताउनु भयो ।

सुख्खा पहिरो जान थालेपछि तुँखा गाउँका ७० परिवार त्रासैत्रासमा बस्दै आएका छन । सुरक्षित आवासको निवेदन दिएको भएपनि तुँखाबासीको पुनस्र्थापनामा कसैले ध्यायन दिन सकेका छैनन् ।
साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष पलकबहादुर बस्नेतले आफूहरूसँग स्रोत साधनको कमि भएकाले गाउँमा जोखिम हुँदा पनि आफूहरूले स्थानान्तरणका लागि पहल गर्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो–यहाँका मानिसहरूको बसाइ सराई जाने ठाउँ नभएको र यहि बसेर गरी खान र बालीनाली लगाउने अवस्था समेत नभएको वडाध्यक्ष बस्नेतको भनाइ छ । वडाध्यक्ष बस्नेले भन्नुभयो ‘समस्या समाधानका लागि इन्सेकले पहल गरीदिनु पर्यो । राज्यले तत्काल भु–गर्भविद् पठाएर यस ठाउँको परीक्षण गरेर आफूहरूको उद्दार गरिनु पर्ने साँगुरीगढी गाउँपालिका–५ का स्थानीयको माग छ ।
जमिन चिरा परेको यस विषयमा बुझ्दा भुगर्भविद डाक्टर रञ्जन दहालले खासगरी भिरालो भूबनौट र उच्च हिमाली भेगहरूमा बर्खापश्चात घाम चर्कन थालेपछि सुख्खा पहिरो जाने सम्भावना बढी रहेको बताउनु भयो ।
खुकुलो माटो भएका र चट्टान भएका भिरालो स्थानहरूमा सुख्खा पहिरो बढी जानसक्ने उहाँको भनाइ छ । भूकम्पपछि त्यस्ता चट्टानहरूमा छिद्र बनेको र विस्तारै पहिरो जाने जमिन फाट्ने हुन सक्ने दहालको भनाइ छ । महाभारत पर्वत क्षेत्रको उत्तरतिरको भाग सुख्खा पहिरोको जोखिममा रहेको भुगर्भविद् दहालको भनाइ छ ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजङ्ग याखाले बस्ती स्थानान्तरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिमा प्रस्ताव पेश गर्ने बताउनु भयो । उहाँले जिल्लाभर बस्ती स्थानान्तरण हुँदा तुँखाको पनि स्थानान्तरण गरिने बताउनु भयो ।

सरकारले बाढीपहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण भत्किएका नीजी आवास निर्माणको लागि अनुदान नदिएपछि तुखाँकाजस्ता पीडितहरूले राहत पाउन सकेका छैनन् । जसका कारण उनीहरूको दिनचर्या त्रासैत्रासमा बित्ने गरेको छ ।
नीजी आवास पुननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम सिफारिस भएका धनकुटाका बाढीपहिरो प्रभावितहरूले राहत नपाएका हुन् । बाढीपहिरोमा भत्किएका नीजी आवास समयमा नै नबन्दा सर्वसाधारणलाई सास्ती बढ्नुका साथै वर्षेनी निर्माणको दायित्व बढ्दै जाँदा समस्या जटिल बन्दै गएको छ ।
नीजी आवास पुननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि २०७७ अनुसार बाढीपहिरोमा परेका नीजी आवास मर्मत तथा निर्माण गर्न कूल लागतमध्ये स्थानीय तहको हकमा महानगरपालिका र उपमहानगरपालिकाले २० प्रतिशत, नगरपालिकाले १५ र गाउँपालिकाले १० प्रतिशत तथा प्रदेश सरकारले ३० प्रतिशत र बाँकी सङ्घीय सरकारले व्यहोर्ने प्रावधान छ ।

तर, प्रदेश सरकारबाट आउनुपर्ने ३० प्रतिशत अनुदान नआउँदा नीजी आवास निर्माणमा समस्या भएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताउनु भयो । लाभग्राहीले अनुदान सम्झौता गरेको २ वर्षमा पुननिर्माण सक्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
धनकुटामा नीजी आवास पुननिर्माण तथा पुर्नस्थापनाका लागि सङ्घीय सरकारबाट पहिलो किस्तामा १३ लाख ९८ हजार ७ सय ५० रुपियाँ र दोस्रो किस्तामा १ करोड ४८ लाख ६८ हजार ७ सय ५० रुपियाँ जिल्ला विपद् व्यवस्थापन समितिमा प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।

तुँखामा अहिले १ फुटदेखि १ मिटरसम्मका सयौँ मिटर लामो जमिन फाटेका धर्सोहरू देखिन थालेका छन् । पहिरोले पुराना, बनाउँदै गरेका घरहरूका आँगन सिकुवाहरू चिराचिरा परेर फाट्न थालेका छन । पोलमा टाँगिएका बिजुलीका तारहरू, बाटो, बारीका डिलहरू भासिएर त्यहाँ लगाएका सुन्तला, अलैचीबारीहरु तलतिर सर्न थालेका छन् । खेतीपातीका लागि जोत्दै गरेका खेतबारीहरू आधा काम गरेर स्थानीयले त्यसै छाडेका छन् ।

हिउँदको समयमा अचानक मुल फुटेर नजिकै बग्ने खोल्सामा सफा पानीको ठाउँमा लेदोसहितको सेतो धमिलो पानी बग्न थालेको छ । जसका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–५ तुँखा गाउँका ७० भन्दा बढी घरपरिवार त्रासैत्रासमा बस्न बाध्य छन् ।