गणेशमान नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेशकुमार यादवको घरमा अज्ञात पक्षले पुस २० गते आगजनी गरेको छ ।
आगजनीबाट काठ, माटो र जस्ताको छानाले छाएको घर पूर्ण रूपमा जलेर नष्ट भएको पीडित पत्रकार सुरेश कुमार यादवले बताउनु भयो ।
पीडित पत्रकार सुरेश यादवले भन्नु भयो–‘पुस १९ गतेदेखि आमा बिरामी भएर जनकपुरमा उपचार गराइरहेको थिएँ । आमालाई थप उपचारका लागि चितवन लैजाने तयारीमा रहेको बेला बिहानै घरमा आगजनीको घटना भयो ।’
आगजनीबाट शुभ श्री बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको २ लाख ८५ हजार रुपियाँ नगद, काठको दराज, एक सेट सोफा, पलङ, ओढ्ने–ओछ्याउने सहित लत्ताकपडा, आमाको कानमा लाउने झुम्का, टप र दालचामल समेत सम्पूर्ण घरायसी प्रयोगका सरसामान गरी करिव १५ लाख रुपियाँ बराबरको समान जलेर खरानी भएको पीडित पत्रकार यादवले बताउनु भयो ।
घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएको र प्रहरीको टोली घटनास्थलमा आएर मुचुल्का गरेको स्थानीय समाजसेवी मिथिला साहले बताउनु भयो ।
पत्रकार यादव एक वर्षदेखि सबैला नगरपालिकामा भइरहेको भ्रष्टाचारबारे जनतालाई जागरुक गराउँदै भण्डाफोर अभियान चलाउनुका साथै नगरपालिकामा करिव दुई महिना धर्नामा बस्नु भएको थियो ।
घटनामा कसको संलग्नता छ भन्ने कुरामा पीडितले किटानी उजुरी दिएको छैन । प्रहरीले पनि आरोपित पत्ता लगाउन सकेको छैन ।