INSEC Online

📅 २०८३ जेष्ठ २१

वाइसीएलका कार्यकर्ताद्वारा इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

भवन डिभिजन कार्यालय जुम्लाका सव-इन्जिनियर ४५ वर्षीय चन्द्रबहादुर खड्कालाई ठेक्का नपरेको आरोपमा चैत ७ गते वाइसीएलका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरी दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

चैत ६ गते ठेक्काको बोलपत्र खुलेपछि आफूहरूलाई नपारेको र नियम विपरित अरूलाई ठेक्का पारेको भन्दै भवन डिभिजन कार्यालयका सव-इन्जिनियर खड्कालाई कुटपिट गरेको पीडितले बताए ।

वाइसीएलका केन्द्रीय सदस्य चन्दननाथ नपा-८ खोलीकोटका ३७ वर्षीय विष्णुबहादुर महतको अगुवाइमा दुई जनाको सङ्ख्यामा गएका व्यक्तिले दुर्व्यवहार गर्दै कुटपिट गरेको इन्जिनियर खड्काले आरोप लगाए । आरोपितहरूको कुटपिटका कारण नाकमा चोट लागेपछि पीडित खड्काको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरूविष्णु काफ्लेले घटनामा संलग्न अन्यको नाम खुलाउन चाहेनन् । घटना अनुसन्धानको प्रक्रियामा रहेकोले उनीहरूको खोजीमा प्रहरी परिचालन गरिएको काफ्लेको भनाइ छ ।

घटनाको विरोध गर्दै नेपाल निजामति कर्मचारी युनियन सङ्घ, आधिकारिक ट्रेड युनियन, नेपाल राष्ट्रिय कर्मचारी निजामति, नेपाल निजामति कर्मचारी सङ्गठनले चैत ७ गते प्रेस विज्ञप्ति प्रकाशन गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

अन्य

भिडियो