INSEC Online

📅 २०८३ जेष्ठ २१

आठपहरिया समुदायमा बालबिवाह बढ्दो, न्यूनीकरणका लागि छैन प्रयास

धनकुटा नगरपालिका‒८ सान्ताङ १५ वर्षीया बालिकाले देउराली माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत १७ वर्षका कविराज आठपहरियासँग बिवाह गर्नुभयो । एउटै विद्यालयमा अध्ययनरत दुवैजनाले बिवाहपछि पढाईसँगै विद्यालय छाड्नु भयो ।

नेपालको कानुन अनुसार २० वर्ष मुनिको बिवाह वर्जित गरेपनि धनकुटामा रहेका आठपहरिया समुदायमा भने १६ वर्ष भन्दा पनि कम उमेरमा विवाह गर्ने क्रम बढेको गएको छ ।

धनकुटा नगरपालिका‒३ कागतेकी १६ वर्षीया एक बालिकाले धनकुटा नगरपालिका‒२ भीरगाउँका १७ वर्षीय एक बालकसँग बिवाह गर्नुभयो । गाउँमै माध्यामिक तहमा अध्ययरत बालिकाले बिवाह गरेपछि उहाँले पनि विद्यालय छाड्नु भयो ।

आठपहरिया समुदायभित्र केही मात्रामा मात्र परिवारको मञ्जुरीमा बिवाह हुने गरेको देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतले बताउनु भयो । शिक्षक बस्नेतले पछिल्लो समय आठपहरिया समुदायमा बाबुआमाको मञ्जुरीमा भन्दा प्रेमपछि बालबिवाह बढेको बताउनु भयो ।

धनकुटा नगरपालिका‒८ सान्ताङमा मात्रै १८ वर्ष भन्दा कम उमेरका १३ जोडीले उमेर नपुग्दै विवाह गरेको देउराली माध्यमिक विद्यालयका शिक्षक बस्नेतको भनाइ छ ।

विद्यालयमा पढ्ने बालबालिकाले एकपछि अर्कोगर्दै बालविवाह गर्न थालेपछि धनकुटाको सान्ताङमा बालविवाहको विकराल बन्दै गएको शिक्षक बस्नेतको भनाइ छ ।

बालबिवाहका कारण सानै उमेरमा आमा बन्ने भएकाले स्वास्थ्यमा पनि समस्या देखिने गरेको सान्ताङ शहरी स्वास्थ्य शहरी क्लिनिक प्रमुख सुनिता पौडेलले बताउनु भयो ।

धनकुटा नगरपालिकामा मात्रै मुख्य थलो भएको आठपहरिया समुदायको २०६८को जनगणना अनुसार करिब २० हजार जनसङ्ख्या छ ।

आठपहरिया समुदायमा बिवाह गर्दा केटा पक्षले सुरूमा केटी पक्षको मामाको घरमा गई कुरो गर्ने र मामाले केटीलाई जानकारी गराएपछि बिवाह गर्ने चलन रहेको आठपहरिया समाजका महासचिव सूर्य आठपहरियाले बताउनु भयो । त्यस क्रममा मामाकै घरमा बिवाहको मिति तय गर्ने चलन रहेको छ । तर, पछिल्लो समय भागी बिवाह गर्ने चलन बढेर गएको उहाँको भनाइ छ ।

बिवाहपछि सुँगुर वा बाख्राको मासु लिएर केटीको घरमा जानुपर्ने चलन आठपहरिया समुदायमा छ । उमेर नपुगी केटाकेटीले भागी बिवाह गरेको खबर थाहा पाएर पनि अभिभावकले नै बालबिवाह गुपचुप पार्ने गरेको आठपहरिया समाजका महासचिव सूर्य आठपहरियाको भनाइ छ ।

आधारभूत तहमै अध्ययनरत विद्यार्थीले समेत बालबिवाह गर्न थालेपछि चुनौती नै सृजना भएको धनकुटा नगरपालिका‒८ का वडाध्यक्ष सुमन आठपहरियाले बताउनु भयो ।

अन्य समुदायमा यो समस्या नभएको भएपनि आफ्नो समुदायमा बालबिवाह जटिल समस्याको रूपमा खडा भएको वडाध्यक्ष आठपहरियाको भनाइ छ ।

बालबालिकाको सहमतिलाई अभिभावकले तोड्न नसक्ने वडाध्यक्ष आठपहरियाको भनाइ छ । उहाँका अनुसार बालबिवाह गरेका जोडी नियमित विद्यालय नजाने, सानै उमेरमा सम्बन्ध बिच्छेद गर्ने, शारीरिक एवम मानसिक रूपमा कमजोर हुने भएपनि जनचेतनाको अभावले आठपहरिया समुदायभित्र रहेको बालबिवाह न्यूनीकरणमा समस्या भएको छ ।

विपन्न समुदायका अभिभावकले छोरीलाई विद्यालयभन्दा बिवाहको बाटो रोज्ने गरेकाले पनि कानुनले वर्जित गरेको बालबिवाहलाई प्रोत्साहन वडाध्यक्षको सुमन आठपहरियाको भनाइ छ ।

छोरीलाई बिवाह गरिदिएपछि झन्झटबाट मुक्त हुने भन्दै परिवारकै दवाबमा बाल बिवाह गर्नेलाई रोक्न गरिएका केही प्रयास असफल भएको वडाध्यक्ष सुमन आठपहरियाले बताउनु भयो । वडाध्यक्ष पहरियाले परम्परागत गलत संस्कार, जनचेतनाको कमी, गरिबी, अशिक्षाका कारण परिवारले नै दबाब दिने गरेको बताउनु भयो ।

कलिलै उमेरमा विवाह गर्ने जोडीलाई रोक्ने गरी धनकुटा नगरपालिकाले हालसम्म कुनै कार्यक्रम सञ्चालन गरेको छैन् । आठपहरिया समुदायमा बालबिवाह गर्नेको सङ्ख्या धेरै भएपनि गुपचुप राख्ने गरिएकाले आधिकारीक तथ्याङ्क सङ्कनमा समस्या भइरहेको जनप्रतिनिधिको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा आठपहरिया समुदायभित्रको बालबिवाहको विषयमा कुनै उजुरी नआएको एसपी नहकुल पोख्रलले बताउनु भयो । बालबिवाह गर्ने क्रम बढ्दो छ भन्ने आएको छ तर, हालसम्म कुनै उजुरी आएको छैन उसपी पोखरेलले भन्नुभयो । आठपहरियाको संस्कार अनौठो भएका कारण प्रहरीमा उजुरी दिन आनाकानी भएको हुनसक्ने एसपी पोखरेलको भनाइ छ ।

सानै उमेरमा बिवाहपछि गर्भवती बन्दा स्वास्थ्यका दृष्टिले समस्या भएपनि यस्तो समस्या धनकुटा आठपहरिया समुदायमा धेरै रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईँले बताउनु भयो । सानै उमेरमा प्रजनन अङ्गहरूको पूर्ण विकास नभइसकेको अवस्थामा मातृ मृत्यु, शिशु मृत्युदर बढ्ने, पाठेघरको क्यान्सरलगायत यौनजन्य रोग लाग्ने भएकाले पनि समस्या हुने गरेको गुराँगाइको भनाइ छ ।

मुलुकी (संहिता) ऐन अनुसार बालविवाह गर्नेलाई तीन वर्ष कैददेखि ३० हजार रुपियाँ जरिबानाको व्यवस्था गरेकाे छ ।

अन्य

भिडियो