INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वसम्बन्धी कार्यदलले पहिलो चरणको प्रतिवेदन बुझायो

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी कार्यदल–२०७३ ले पहिलो चरणको प्रतिवेदन शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलाई बुझाएको राससले जनाएको छ ।

कार्यदलले काठमाडौँमा चैत २ गते पत्रकार सम्मेलनको आयोजना गरी सरकारले छानबिन गर्न दिएको कुल सङ्ख्या १४ हजार ९ सय ८८ मध्ये ३ हजार ८ सय ३० जनाको पहिलो चरणमा समावेश गरिएको प्रतिवेदन मन्त्री यादवलाई बुझाएको हो ।

प्रतिवेदनमा ३ हजार ८ सय ३० मध्ये अङ्गभङ्ग (अपाङ्ग/घाइते) १ हजार ६ सय ३०,  टुहुरा बालबालिका ६८, अपहरणमा परेका व्यक्ति ७ सय ८८, मृतक १ सय २५, बेपत्ता पारिएका व्यक्ति ८३, विस्तापित ६ सय ५१ र सम्पत्ति क्षति ४ सय ८५ रहेको छ ।

कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री यादवले द्वन्द्वकालीन पीडा निकै पीडादायी भएको हुँदा तोकिएको समयभित्र कार्यसम्पादन गर्न कार्यदललाई आग्रह गरिन् । उनले सरकारले दिएको समयभित्र प्रतिवेदन बुझाउन र काममा देखाएको लगनशीलताप्रति आफू निकै खुसी भएको बताइन् ।

कार्यदलका संयोजक रामचन्द्र घिमिरेले सरकारले आफूलाई निश्चित सङ्ख्या तोकेर काम गर्नका लागि ४५ दिनको समय दिएको र आफूहरुले पहिलो चरणको प्रतिवेदन पूरा गरेको र बाँकी पनि समयभित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रिपरिषद्को बैठकले ०७३ साल फागुन ११ गते द्वन्द्वकालीन यथार्थ घटना बाहिर ल्याउन एक कार्यदल निर्माण गरेको थियो ।

अन्य

भिडियो