INSEC Online

📅 २०८३ जेष्ठ २१

विविध कार्यक्रम गरी प्रदेश २ मा मानव अधिकार दिवस मनाइयो

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार दृढ भएको बताउनुभएको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरधाममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ ले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले दैनिक जीवन यापनका लागि पनि मानव अधिकारको प्रत्याभूति आवश्यक रहेको बताउनु भयो ।

16 days campaignNepali

मानव अधिकार संरक्षणका लागि प्रदेश सरकार सदैब तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मानव अधिकारबाट वञ्चित उत्पीडित वर्गका लागि प्रदेश सरकार एकपछि अर्को कार्यक्रमहरू ल्याइरहेको बताउनु भयो ।

उहाँले मानव अधिकार संरक्षणको लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउँदै मानव अधिकारबाट वञ्चित समाजका उत्पीडित वर्गहरूको लागि प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रम ल्याएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. मिहिर ठाकुरले मानव अधिकारको सवालमा राष्ट्रिय मानव अधिकारको रक्षाका लागि आयोगले इमान्दारीपूर्वक संवैधानिक अधिकारको कर्तव्य निर्वाह गर्दै आएको बताउनु भयो ।

photo20211210dhanusha

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार बर्दिबास चल्की विजलपुरा चोकमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।

मानव अधिकार निगरानी समूह बर्दिबास, नेपाल राष्ट्रिय नारायणी मावि चल्की बाल सचेतना समूह बर्दिबासद्वारा आयोजित प्रभातफेरि विद्यालयको प्राङ्गणबाट सुरू गरी डाँडाटोल बजार क्षेत्रसम्म पुगी पुनः विद्यालयमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक विनोद साहले यसरी दिवसका अवसरमा प्रभातफेरि जस्ता कार्यक्रम आयोजना गर्दा बालबालिकालाई दिवसको महत्वबारे जानकारी हुने तथा स्थानीयलाई पनि यसबारे अवगत हुने बताउनु भयो ।

मानव अधिकार निगरानी समूह बर्दिबासका अध्यक्ष उर्मिला कार्कीले मानव अधिकार वास्तविक अर्थ र दिवसको महत्वबारे बोल्नु हुँदै सबै मानव समान रहेको बताउनु भयो ।

त्यसैगरी मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसङ्गठनले प्रभातफेरी निकाली दिवस मनाएका छन् ।

जलेश्वरको बुद्धिजिवी चोकदेखि जलेश्वरनाथ महादेव मन्दिरसम्म निकालिएको उक्त प्रभातफेरीमा इन्सेक, थर्ड एलायन्स, मानव अधिकार संरक्षण केन्द्र, ओरेक नेपाल, टिपिओ नेपाल, वाईएनपिडी, फ्रिडम फर अल नेपाल, प्रयास, समाज विकास केन्द्र, जिल्ला महिला सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल महोत्तरी र युथ एडभोकेसी नेपाल लगायतका विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिले सहभागिता जनाएका थिए ।

photo20211210mahottari

प्रभातफेरी पश्चात भएको कोणसभामा बोल्दै मानव अधिकारकर्मीहरूले महोत्तरीमा मानव अधिकार उल्लङ्घनका घटनाहरूका साथै ‘बोक्सी’ आरोपमा प्रताडित गर्ने अभक्ष कोच्याउने तथा महिलामाथि विभिन्न प्रकारका हिंसाका घटनाहरु बढिरहेकोमा सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

त्यसैगरी साँझ जलेश्वरस्थित दुर्गाचोकमा दिप प्रज्ज्वलन गर्ने समेत गरिएको छ।

photo20211210mahottari

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार इन्सेक सप्तरीको संयोजनमा मङ्सिर २४ गते राजविराजमा मानव अधिकारको अवस्था र भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना र इन्सेकको संयोजनमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सबैको मानव अधिकार सुनिश्चित र प्रवर्धन गर्न सरोकारवाला निकाय र राज्य साथ भएर अगाडि बढ्नु पर्ने बताए ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले मानव अधिकारको उपभोगको सन्दर्भमा देखिएका समस्या र चुनौतीको समाधानका लागि सबैको आवश्यकता अपरिहार्य रहेको बताउनु भयो ।

मानव अधिकारको विकासक्रमका बारेमा विस्तृत जानकारी दिनुहुँदै इन्सेक प्रतिनिधि पोखरेलले मानव अधिकारको बहुल विषयमा एकमुष्ठ आवाज उठाउन मानव अधिकारकर्मी, सरोकारवाला र स्वयम् सरकारसमेतले सामूहिक हातेमालो गर्नुपर्ने आवश्यक्तामा जोड दिनु भयो ।

एकल महिला समूह प्रदेश २ की अध्यक्ष अनीता देवकोटाले मानव अधिकार सङ्कटमा परिरहेको, नागरिक अधिकारका विषयहरू सङ्कुचित भइरहेको र सङ्क्रमणकाल अझै नसकिएकोले मानव अधिकारको रक्षाका निम्ति सामूहिक पहल गर्न जरुरी रहेको बताउनु भयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिले १६ दिने अभियानअन्तर्गत सप्तरीमा १६ दिनसम्म विभिन्न कार्यक्रम गरेको छ ।

राष्ट्रसङ्घको महासभाले मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै सन् १९४८ डिसेम्बर १० मा घोषणापत्र जारी गरेको थियो ।

photo20211210saptari

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन लहान नपा, मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा, ओरेक नेपाल, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, दलित जनकल्यण यूवा क्लब, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, अपाङ्ग पुनरस्थापना केन्द्र, सहयोगी हातहरूलगायत सङ्घ संस्थाहरुको आयोजनामा रक्तदान, सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबू कवारीले १६ दिने अभियानको अन्तिम दिन भएपनि यो अभियानलाई वर्षभर नै निरन्तरता सङ्घसंस्थाहरूले दिनु पर्ने बताउनु भयो ।

समाजमा हिंसाका स्वरुपहरू परिवर्तन भएकोले सचेतना आवश्यक रहेकोले यस्ता अभियानहरूले गाउँगाउँमा सचेतना बढेकाले सङ्घसंस्थाहरूले सहयोग गर्नु पर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिराबहादुर पाण्डेले मानव अधिकारको संरक्षणमा प्रहरी संवेदनशील  रहेको मानव अधिकारको संरक्षण र प्रवर्धनमा सङ्घसंस्थासँग हातेमालो गर्दै अगाडि बढाउने बताउनु भयो ।

लहान नगरपालिकाकी उपप्रमुख सरियार चौधरीले न्यायिक समितिको काम कानुनसम्मत गर्ने गरेको बताउनु भयो ।

सञ्जालले प्रत्येक वर्ष मानव अधिकारको क्षेत्रमा क्रियाशील भई काम गर्ने, कलम चलाउनेहरूलाई सम्मान गर्ने गर्दछ ।

यस वर्ष सञ्जालले मानव अधिकारकर्मी विशेश्वर दास, दलित अधिकारकर्मी प्रेम राम, महिला अधिकारकर्मी शोभा बराल र सञ्चारकर्मी दिलिप सहनीलाई सम्मान गरेको थियो ।

त्यसैगरी विष्णुपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूह र बाल अधिकार सचेतना समूहका पदाधिकारीहरू सहितको टोलीले र्‍याली, सडक नाटकलगायतका कार्यक्रम गरी ७३ औँ मानव अधिकार दिवस मनाएको सखुवानन्कारकट्टी गाउँपालिका मानव अधिकार निगरानी समूहका सदस्य रहमुल राइनले बताउनु भयो ।

photo20211210siraha

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार मानव अधिकार रक्षक सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपालको संयुक्त आयोजनामा सर्लाहीमा र्‍याली तथा अन्तरक्रिया गरिएको छ ।

र्‍यालीपछि आयोजित अन्तरक्रियामा मलङ्गवा नगरपालिका भित्र महिला हिंसा, बाल मजदुर, बालविवाह तथा दाइजोजनित हिंसा अन्त्यका लागि कार्यक्रम गर्ने मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले प्रतिबद्धता जनाउनु भएको छ ।

photo20211210sarlahi

अन्य

भिडियो