नेपाल बार एसोसिएसन कार्यालय अगाडि आमरण अनसनमा बस्दै आउनु भएकी तारा बरालको हाल वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिति थप जटिल अवस्थामा पुगेकाले जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले अपिल गरेको छ ।
आयोगले ०७८ मङ्सिर १९ गते जारी गरेको विज्ञप्तिमा महिला माथि दुर्व्यवहार गरी अपशब्द बोल्ने वकिलहरूलाई कारबाही गर्नु पर्नेलगायतका माग राख्दै ०७८ कात्तिक ३० गतेदेखि आमरण अनसनमा बस्दै आउनु भएको उल्लेख छ ।

बरालले सर्वोच्च अदालतलाई पूर्ण रूपमा तत्काल सुचारु गर्नुपर्ने, एमसीसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्ण रूपमा खारेज गर्नुपर्ने भन्ने माग राख्दै आमरण अनसन बस्दै आउनु भएको विज्ञप्तिमा उल्लेख छ ।
निज अनसनरत तारा बरालको जीवन रक्षाको लागि सम्बन्धित सबै पक्षसँग अपिल गरिएको आयोगले जनाएको छ ।
साथै जीवन जोखिममा राखेर अनसन नबसी आफ्ना मागहरूलाई छलफलका माध्यामबाट सम्बोधन गर्ने वातावरण सृजना गर्न बराललाई पनि आग्रह गरिएको आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।