पुर्बीचौकी गाउँपालीका–२ बग्लेकमा स्वास्थ्य चौकी निर्माण गरिएको एक वर्ष बितिसक्दा समेत निर्माण कार्यमा संलग्न मजदुरहरुले ज्याला पाउन सकेका छैनन् ।
२०७४ सालमा १ करोड ७० लाख रुपियाँमा ठेक्का पाएको पीएस कन्स्ट्रक्सन प्राली, सिलगढीले भवन निर्माण गरेको एक वर्ष भइसक्दा पनि कम्पनीले ज्याला नदिएर श्रम शोषण गरेको मजदुरहरुले दुखेसो गरेका छन् ।
पीएस कन्स्ट्रक्सनमार्फत पेटी ठेक्का लिएको निर्माण सेवाले काम गरेको एक वर्ष बितिसक्दा समेत ज्याला नदिएको मजदुर हिरादेवी वलीले दुखेसो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘घरको काम र बालबच्चा छोडेर मजदुरी गरेको भएपनि ज्याला पाएका छैनौँ । निर्माण कम्पनीले श्रम शोषण गरेको छ ।’

स्वास्थ्य चौकी निर्माण गर्न ६० जना स्थानीय मजदुरले एक महिनासम्म काम गरेको भएपनि निर्माण कम्पनीले कसैलाई पनि ज्याला नदिएको मजदुर जगत बिकले बताउनु भयो ।
निर्माण कम्पनीले ज्याला बराबरको १० लाख रुपियाँ उपलब्ध नगराएको भन्दै ६० जना स्थानीय मजदुरहरुले गुनासो गरेपछि निर्माण कम्पनीसँग छलफल गरी ज्याला रकम भुक्तानी गर्न आग्रह गरेको पुर्बिचौकी गाउँपालिका–२ का वडाध्यक्ष योगेन्द्रबहादुर ठकुल्लाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘मजदुरहरुको ज्याला भुक्तानीका लागि निर्माण कम्पनीसँग पटकपटक छलफल गरेको छु । तर, मजदुरहरुले ज्याला पाउन सकेका छैनन् ।’
भवन निर्माण कार्य सम्पन्न गर्न पेटी ठेकेदारसँग सम्झौता गरिएको र निर्माण कार्य सम्पन्न भएपश्चात पेटी ठेकेदारले पाउने सम्पूर्ण रकम कम्पनीले भुक्तानी गरिसकेकोले मदजुरहरुको ज्याला भुक्तानीमा पेटी ठेकेदार नै जवाफदेही हुनु पर्ने पीएस कन्स्ट्रक्सन प्राली, सिलगढीका प्रमुख प्रेमशंकर भट्टले बताउनु भयो ।
पीएस कन्स्ट्रक्सन प्रालीले आफूलाई दिनुपर्ने पूरै रकम उपलब्ध नगराएका कारण मजदुरहरुको रकम रोकिएको पीएस कन्स्ट्रक्सनका पेटी ठेकेदार धनबहादुर वलीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘मजदुरहरुको ज्याला रकम समयमै दिनु पर्ने हो । तर, सकिएको छैन् । कमजोरी भएको छ । जतिसक्दो चाँडो मजदुरले पाउनु पर्ने ज्यालाको रकम भुक्तानी गर्ने छु ।’
नेपालको संविधान २०७२ को धारा ३४(२) मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भनि उल्लेख गरिएको भएपनि पुर्बिचौकी गाउँपालिका–२ का स्थानीय मजदुरहरुले भवन निर्माण गरिएको एक वर्ष बितिसक्दा पनि ज्याला रकम पाउन सकेका छैनन् ।