लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख कार्यकारी अधिकृत घोराही उप–महानगरपालिका–१७ का ३९ वर्षीय अनन्तराज घिमिरेले मार्ने धम्की आएको भन्दै मङ्सिर १७ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनका लागि लुम्बिनी प्रदेश सरकारले घिमिरेलाई विकास प्राधिकरणको जिम्मेवारी दिएपछि दाङको भालुवाङमा प्रदेश सभा भवन निर्माण लगायत राजधानीको गुरूयोजना निर्माण थालिएको थियो ।
प्रदेश सभाको हिँउदे अधिवेशन दाङमै गर्ने तयारीका लागि प्रदेश सभा भवनको काम दिन रात गरी दुई सिफ्टमा काम थालिएको छ ।

घिमिरेलाई मङ्सिर १६ गते राति सुबोध बेलवासेको नाममा रहेको फेसबुक म्यासेन्जरबाट राजधानी निर्माणको काम नरोके मार्ने धम्की आएको भन्दै आवश्यक सुरक्षा र दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दिएको घिमिरेले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले उजुरीका आधारमा छानविन प्रक्रिया अघि बढाएको बताउनु भयो ।