INSEC Online

📅 २०८३ जेष्ठ २१

सुस्त मनस्थितिका युवक सत्र वर्षदेखि साङ्लोमा

हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरूलाई सहारा दिउन् । तर, झापा राजगढ-८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको राससले जनाएको छ ।

Photo20170313jhapa-rss

विसं २०५४ मा जन्मिएका लीलाप्रसादलाई १७ वर्षदेखि साङ्लोले बाँध्नुपरेपछि उनकी आमा जानुका चम्लागार्इंले बुढेसकालमा सन्तानको सहारा पाउने आशमात्र मारेकी छैनन्, आफ्नो शेषपछि छोराको हेरचाह कसले गरिदेला भन्ने चिन्ताले पिरोलेकोसमेत बताइन् । १९ वर्षीय छोरालाई १७ वर्षदेखि निरन्तर साङ्लोले बाँधेर हेरचाह गरिरहेकी जानुका भन्छिन्- “बुढेसकालको सहारा त गुम्योगुम्यो, मेरो शेषपछि उसलाई कसले हेरिदेला ?”

बाल्यावस्थादेखि नै सुस्त मनःस्थिति भएका लीला बोल्दैनन् । उनको दाहिने हात पनि चल्दैन । तर, आमाले गरेको इशारा भने बुझ्छन् । टोलाइरहने स्वभावका उनी फोहर टिप्दै खाने, बोलिरहने र हिँडेपछि घर नफर्कने गरेपछि उनलाई साङ्लोले बाध्नुपरेको जानुकाले बताइन् ।

आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ भएको बताउँदै जानुका भन्छिन्- “छोरो निको होस् भन्ने चाहना कुन आमालाई हुँदैन र ? तर,  के गर्नु छोराको उपचार गराउने पैसा छैन । छाक टार्नसमेत धौधौ हुन्छ । मजदुरी गर्न नगई हुँदैन त्यस्तो अवस्थामा उसलाई साङ्गाले बाँधेर जान्छु ।” -जानुकाले भनिन् ।

आर्थिक अभावकै कारण छोराको उपचार गराउन नसकेपछि जानुकाले दातासमक्ष सहयोगको आशा गरेकी छन् । उनले भनिन्- “एकपटक राम्रो डाक्टरलाई देखाउन पाए छोरो निको हुन्थ्यो कि भन्ने मनमा लागेको छ ।”

“जता हिँड्यो उतै हराउँछ, कतै गयो भने पानीमा डुब्ला, गाडीले किच्ला, कसैले कुटिदेला भनेर हामीले उसलाई साङ्लाले बाँधेका हौँ ।” – जानुकाले भनिन्- “माया भए पनि छोरो बचाउन अर्को विकल्प नदेखेर उसलाई बाँधेका हौँ ।”

अन्य

भिडियो