नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि मङ्सिर ७ गते विद्यालयलाई मतदानस्थलको रूपमा प्रयोग गरिएपछि पठनपाठन प्रभावित भएको छ ।
म्याङलुङ्ग नगरपालिका–२ स्थित सिहवाहिनी माध्यामिक विद्यालय मङ्सिर ७ गते बिदा गरेर नेपाली कांग्रेसले मतदानस्थल बनाइएको पत्रकार कृष्ण बिदुखी गौतमले बताउनु भयो ।
नेपाली कांग्रेसको २ नम्बर क्षेत्रीय निर्वाचन र प्रदेश अन्तर्गत ख क्षेत्रको निर्वाचन मङ्सिर ४ गते जनज्योती माध्यमिक विद्यालयलाई मतदान स्थल बनाइएको थियो ।
सिंहवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर कार्कीले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर विद्यालयलाई मतदानस्थलको रूपमा प्रयोग गरिएको बताउनु भयो ।
नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरी पठनपाठनमा बाधा पुग्ने गरी कुनै पनि राजनीतिक दल वा सङ्घसंस्थाको कार्यक्रमलाई वर्जित गरेको छ ।
नेपालको संविधान २०७२ ले धारा ३१ मा शिक्षा सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।

