दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले मङ्सिर १ गते पत्रचार गरी सदरमुकाम क्षेत्रका चार ओटा विद्यालयहरु चार दिनका लागि बन्द गर्न आग्रह गर्नु भएको छ ।
सदरमुकाम भित्रका बिरेन्द्र मावि, जगदम्बा मावि, दशरथचन्द मावि र दशरथचन्द आधारभूत विद्यालयलाई चार दिनसम्म बन्द गरी विद्यालय भवन र फर्निचरहरु उपलब्ध गराई कांग्रेसको १४ औँ जिल्ला अधिवेशनमा सहयोग गर्न नगरप्रमुख थापाले पत्रचार गर्नु भएको हो ।
कोभिड–१९ को माहामारीले लामो समय विद्यालय बन्द हुँदा पठनपाठनबाट वञ्चित विद्यार्थीहरु फेरि पार्टीका अधिवेशनको मारमा पर्ने देखिएको छ ।
नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचनमा विजयी भएका दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पत्रचार गरेर विद्यालय बन्द गर्ने गरी अधिवेशन सम्पन्न गर्ने तयारी गरिएकोप्रति अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारीलगायत विद्यार्थी सङ्गठनहरुले विरोध गरेका छन् । विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुनै पनि पार्टीले उल्लङ्घन गर्न नहुने विद्यार्थी सङ्गठनहरुको तर्क छ ।
दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्र सिंह थापाले कात्तिक १ गते सदरमुकाम भित्रका चार ओटा विद्यालय चार दिनसम्म बन्द गर्न पत्रचार गरेपछि सामाजिक सञ्जाल र नागरिक तहमा समेत चर्को विरोध भइरहेको छ ।
पार्टीको अधिवेशन सम्पन्न गर्नका लागि विद्यालयलाई लामो समयसम्म बन्द गरिनु विद्यार्थीको पक्षमा नभएको अनेरास्ववियू, बैतडीका अध्यक्ष सन्तोष रानाले बताउनु भयो ।
कांग्रेस जिल्ला कार्यसमितीले पनि मङ्सिर ४ गतेदेखि ७ गतेसम्म विद्यालय बन्द गरी भवन तथा डेस्क बेन्च सहयोग गर्न विद्यालयहरुलाई पत्र पठाएको छ ।
नेपाली कांग्रेस, बैतडी जिल्लाका पार्टी सभापति समेत रहेका नगरप्रमुख थापाले पार्टी र नगरपालिका दुवैका तर्फबाट विद्यालयहरुलाई पत्र लेख्नु भएको छ ।

कोभिड सङ्क्रमणका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरु केही समय अघि मात्रै भौतिक रुपमा सञ्चालनमा आएपनि दशैं र तिहारमा फेरि बन्द भएका विद्यालयहरु पार्टीको कार्यक्रमका लागि चार दिनसम्मै बन्द गर्ने भनिएपछि आफूहरुमा निराशा छाएको बिरेन्द्र मावि, शाहीलेकका विद्यार्थी अनील पाण्डेयले बताउनु भयो ।
विद्यालय बन्द गर्न पत्र आएपछि जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइसँग परामर्श लिने काम भइरहेको बिरेन्द्र मावि, शाहीलेकका प्राचार्य कैलाश कनौजीयाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘प्रशासन र शिक्षा इकाईलाई के गर्ने भनेर सोधेका छौँ ।, प्रशासनबाट जे निर्देशन आउँछ, त्यही गर्ने तयारीमा छौँ ।’
