INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशैभर, ७३ जना नेता कार्यकर्ता गिरफ्तार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको कारण देशैभर शिक्षण संस्था प्रभावित भएका छन् भने ७३ जना बन्दकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।

काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार पेट्रोलियम पदार्थ तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा सरकारले मूल्यबृद्धि गरेको विरोधमा  काठमाडौँमा सडक बन्द गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १५ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार प्रहरीले उपत्यकाका महाराजगञ्ज, साँखु, सुन्धारा, भद्रकाली, सोह्रखुट्टे, कालिमाटीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेका नेकपाका कार्यकर्ताहरूको विवरण

१. विदुषी, ४२, काठमाडौँ

२. कान्छा तामाङ, ३३, काठमाडौँ

३. राज गजमेर, ३८, ओखलढुङ्गा

४. सुवास महत, २५, अछाम

५. प्रजित बिक, २७, रोल्पा

६. रामकृष्ण गिरी, ३२, शङ्खरापुर, काठमाडौँ

७. भुवन तामाङ, २०, शङ्खरापुर, काठमाडौँ

८. सुकबहादुर तामाङ, ३३, शङ्खरापुर, काठमाडौँ

९. दीपक मानन्धर, ३५, काठमाडौँ

१०. राजन  श्रेष्ठ (सङ्घर्ष), २७, काठमाडौँ

११. डीबी  चन्द, २६,  दाङ

१२. प्रेम सिजापती, २८, बाँके

१३. प्रदिप बम्जन, २७, बारा

१४. मनिस सुनार, १९, कालिकोट

१५. सरस्वती कार्की, २०, उदयपुर

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका बागमती प्रदेश इञ्चार्ज राजन साउदलाई कात्तिक ३० गते बिहान गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ । तिमध्ये ११ जनालाई दमौलीबाट र दुई जनालाई डुम्रेबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमल्सिनाले बताउनु भयो । दमौलीबाट गिरफ्तार हुनेमा सो पार्टीका जिल्ला सेक्रेटरी राजु विश्वकर्मा ‘एटम’, व्यास नगर इञ्चार्ज ओमविक्रम पन्त, मजदुर सङ्गठनका जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारीका जिल्ला सचिव शिव सदाशङकर, मगर मुक्ति मोर्चाका जिल्ला सदस्य रणविर राना, कार्यकर्ताहरू गुञ्जसिंह कुमाल, लेखबहादुर नेपाली, जीवन परियार, रामबहादुर नेपाली, विजय नेपाली र राजकुमार नेपाली रहेका छन् । त्यस्तै डुम्रेबाट मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य निरु थापा र युवा सङ्गठनका सदस्य सङ्घर्षलाई गिरफ्तार गरिएको डिएसपी तिमल्सिनाले बताउनु भयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बन्दको तयारी हुँदै गर्दा नेता कार्यकर्तालाई गिरफ्तार गरिएको सो पार्टीका तनहँु जिल्ला इञ्चार्ज पुर्णजित पुनले आरोप लगाउनु भयो ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार बन्द गराउन हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी कमल केसीसहित १६ जना विद्यार्थी नेता, कार्यकर्ता तथा किसानलाई प्रहरीले विभिन्न ठाँउबाट गिरफ्तार गरेको छ । बन्दकर्ताहरूले ढुङ्गामुढा गर्दै अवरोध गर्न थालेपछि वाणगङ्गा नगरपालिका–४ नम्बर क्षेत्रबाट नौ जना गोरुसिङ्गेबाट एक जना र चन्द्रौटाबाट ६ जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनु भयो ।

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार बन्द गराउदै हिडेका विप्लव नेतृत्वको नेकपाका १९ जना बन्दकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । पूर्वपश्चिम राजमार्ग अवरोध गर्ने क्रममा गढवा गाउँपालिका–१ धानखोलाबाट १२ जना र राप्ती गाउँपालिका –१ बाट सात जना बन्दकर्तालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । गिरफ्तार पर्नेमा गढवा गापा–१ रङसिङका ३० वर्षीय होमबहादुर केसी, २२ वर्षीय मोहन गिरी तथा शीतगङ्गा नपा–९ नयाँबस्तीका २४ वर्षीय नरेन्द्र पुन, १८ वर्षीय शङ्कर घर्ती, १७ वर्षीय पुरन राना, १९ वर्षीय प्रकाश सुनार, १५ वर्षीय पदम खनाल, १६ वर्षीय दिपेन्द्र पुन, १३ वर्षीय आयुस थापा, १६ वर्षीय कर्णबहादुर राना, १९ वर्षीय राज केसी र १३ वर्षीय मनोज कुमाल रहेको इलाका प्रहरी कार्यालय, भालुवाङका इन्स्पेक्टर भुवन भट्टले जानकारी दिनुभयो । यसैगरी, भालुवाङ पुल्चोकमा अवरोध गर्ने अन्य सात जना बन्दकर्तालाई पनि प्रहरीले गिरफ्तार गरेको जनाएको छ । बन्दको कार्यक्रम सकिएपछि उनीहरूलाई रिह ागर्ने प्रहरीले जनाएको छ । बन्दका क्रममा बजार, कलकारखाना, विद्यालय सञ्चालनमा आउन सकेनन् ।

बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका–११ घर भई जानकी गाउँपालिका–३ बस्ने ३३ वर्षीय पुष्कलराज माझीलाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ । सडकमा गुडिरहेका रिक्सा र मोटरसाइकलका साँचोहरू निकालेर यात्रुहरूलाई दुःख दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडिबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ईश्वरदेव गिरीले बताउनु भयो ।

सुर्खेत जिल्ला प्रतिनिधि पुर्णबहादुर खड्काका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सात जना कार्यकर्तालाई सुर्खेत प्रहरीले गिरफ्तार गरेको छ । कात्तिक ३० गते पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै नेपाल बन्दको घोषणा गरेको थियो । सोहीक्रममा विप्लव समूहका कार्यकर्ताले पनि वीरेन्द्रनगरमा यातायताका साधन र बजार बन्द गराउँदै हिँडेको आरोपमा वीरेन्द्रनगर नपा–२ का २० वर्षीय दिने बोगटी, वीरेन्द्रनगर नपा–३ का २४ वर्षीय भूमिप्रसाद उपाध्याय, वीरेन्द्रनगर नपा–१२ का ३२ वर्षीय दलबहादुर शाहीलाई गिफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कालिकोट सान्नित्रिवेणी–३ का ३० वर्षीय तुलराज तिरुवा, जाजरकोट नलगाड–५ का २९ वर्षीय प्रेम शाही, दैलेख महावँ–५ का २४ वर्षीय प्रकाश सुनार र अछाम पञ्चदेवल–८ का २८ वर्षीय कमलकुमार शाहीलाई गिरफ्तार गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । प्रहरीले दुई जनालाई धुलियाविट र दुई जनालाई मुलपानी चोक नजिक र बाँकी ३ जनालाई बजार क्षेत्रबाट गिरफ्तार गरिएको जनाएको छ । अहिले गिरफ्तार गरिएका सातै जना जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

अन्य

भिडियो