कुश्मा नगरपालिकामा सञ्चालित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन छात्रछात्रालाई ब्रेल पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ ।
कक्षा १ देखि १० सम्म ब्रेलमार्फत पठनपाठन सञ्चालन भएपनि ११ र १२ कक्षामा अध्ययनरत न्यून दृष्टि भएका विद्यार्थीहरू ब्रेल लिपीमार्फत पठनपाठन गर्न बाट वञ्चित भएका छन् ।
विद्यालयमा अध्ययनरत १४ जना दृष्टिविहिन विद्यार्थी मध्ये कक्षा ११ मा ४ र कक्षा १२ मा दुई गरी ६ जना अध्ययनरत छन् ।
ब्रेल पाठ्यपुस्तक नहुँदा आफूहरू पठनपाठनमा अध्य विद्यार्थी सरह अघि बढ्न नसकेको न्यूनदृष्टि भएकी विद्यार्थी १९ वर्षीया बेलकुमारी क्षेत्रीले गुनासो गर्नुभयो ।
ब्रेल उपलब्ध हुन नसकेपछि आधुनिक प्रविधि युक्त ल्यापटप उपलब्ध भएमा आफूहरू अन्य विद्यार्थी सरह कक्षामा सहभागी हुन सकिने २० वर्षीया कुसुम गौतमले बताउनुभयो ।
दृष्टिविहिन विद्यार्थीहरू ब्रेल पाठ्यपुस्तककै अभावमा अघि बढ्न नसकेको बताउँदै विभिन्न सरोकारवाला निकायहरूले यसतर्फ ध्यान दिनुपर्ने विद्यालयका स्रोत शिक्षक हरिदत्त शर्माले बताउनुभयो ।
कुश्मा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद पौडेलले नेपाल सरकारले हालसम्म कक्षा १० भन्दा माथिका कक्षामा अध्यापन गराउने गरी ब्रेल पाठ्यक्रम मुद्रण नगरेकाले उपलब्ध गराउन नसकिएको बताउनुभएको छ ।