कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण पीडित भएका स्वामीकार्तिक खापर गाउँपालिका–१ माझ गाउँका ५१ परिवार राहात पाउनबाट वञ्चित भएका छन् ।
पूरै गाउँको चारै तिरबाट पहिरो गएपछि गाउँनै विस्तापित भएको र तत्काल मुक्तिकोट आधारभूत विद्यालयमा बस्नु परेको स्थानीय सतल बिकले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले पनि सुख्खा पहिरो गइरहेको छ । दिनमा गाउँ जान्छु । साँझपख विद्यालयमा आएर बास बस्नु । विस्थापत भएको एक महिना बितिसक्दा पनि राहत दिने र पुनस्र्थापना गर्ने कार्य गरिएको छैन् ।’
कात्तिक १ गतेखेखि आएको बेमौसमी अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण गाउँ नै चिराचिरा हुँदा माझगाउँका ५१ परिवारले कष्टकर जिवन बिताउँदै आएका छन् ।
गाउँनै पुरै पहिरोको जोखिममा रहेको खबरपछि स्थलगत अनुगमन गर्दा गाउँमै उच्च जोखिममा रहेकोले तत्काल नै स्थान्तरण गर्न आवश्य भएको अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले बताउनु भयो ।
बाढीपहिरोका कारण विस्थापित भएकाहरुले पनि राहत पाउन नसकेको अवस्था छ भने पहिरोको उच्च जोखिममा रहेका परिवारलाई तत्काल अन्यत्र स्थान्तरण गर्ने अवस्था पनि नभएकाले स्थानीयहरुलाई थप समस्या भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बाढीपहिरो पीडितहरुलाई राहत, पुनस्र्थापना तथा स्थान्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहलाई लिखत मै पठाएका छौँ । तीनै तहका सरकारले सयुक्त योजना बनाएर पीडितको पक्षमा काम गर्न आवश्यक छ ।’
बाझगाउँ जिल्लाको सबै भन्दा दुर्गम गाउँ र सबै भन्दा बढी गरिबीको मार खेपिरहेको गाउँ हो । बाह्रै महिना चरम खाद्य सङ्कटको मार खेपिरहेने बाझागाउँबासीले बाढीपहिरोका कारण थप पिडा र सास्ती खेप्नु परेको छ । यस गाउँका ५१ प्रिवारका ३ सय भन्दा बढी व्यक्तिहरु समस्यामा परेका छन् ।
गाउँमा बालबालिका, महिला, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवतीहरु सबै भन्दा बढी समस्यामा परेका र आकासमा कालो बादल लाग्ने बित्तिकै पहिरोको डरका कारण स्थानीयहरु घर छोडेर विद्यालय तथा खुला चौरमा जाने गरेको गाउँपालिका सूचना अधिकारी कुबेर शाहिले बताउनु भयो ।
स्थानीयहरु पहिरोको उच्च जोखिममा भएका भएपनि उनीहरुलाई अहिलेसम्म राहत तथा पुनस्र्थापन गर्न नसकिएको भएपनि राहत उपलब्ध गराउन र पुनस्र्थापना गर्नका लागि गाउँपालिकाले योजना बनाइरहेको सूचना अधिकारी शाहीले बताउनु भयो ।
स्वामीकार्तिक खापर गाउँपालिकामा पहिरोका कारण ४७ परिवार र त्रिबेणी नगरपालिकाका दुई परिवार विस्थपित भएका र जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीका केही भवनहरु पहिरोले बगाएको सूचना भएपनि जिल्लाको सम्पूर्ण सूचनाहरु प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महराले बताउनु भयो ।