धनकुटा नगरपालिका–५ की ५१ वर्षीया तारामाया बस्नेत रूघाखोकीले अस्वस्थ्य भएपछि चेकजाँचका लागि कात्तिक २० गते जिल्ला अस्पताल धनकुटा जानुभयो । उहाँलाई अस्पतालका डाक्टर पुजन विश्वकर्माले दूषित खानेपानीका कारण रूघाखोकीले अस्वस्थ्य बनाएको बताउनु भयो ।
धनकुटा नगरपालिका–६ का ४२ वर्षीय मोहन कार्कीलाई झाडावान्ताले सताएपछि उहाँ उपचारका लागि कात्तिक २२ गते जिल्ला अस्पताल पुग्नुभयो । उहाँलाई पनि डाक्टर विश्वकर्माले खानेपानीकै कारणले झाडावान्ताले सताएको बताउनु भयो ।
धनकुटा नगरपालिका–७ का ३२ वर्षीय किशोर मैनाली रूघामर्कीले सताएपछि कात्तिक २४ गते उपचारका लागि जिल्ला अस्पताल पुग्नुभयो, अस्पतालका डाक्टर विश्वकर्माले खानेपानी दूषित भएर स्वास्थ्य समस्या भएकाले नियमित पानी उमालेर प्रयोग गर्न सुझाव दिनुभयो ।
उल्लिखित बस्नेत,कार्की र मैनाली दूषित पानी सेवनका कारण स्वास्थ्य समस्या भोग्ने प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।
धनकुटा बजारमा शुद्ध खानेपानीको अभावकै कारण ज्वरो, रूघाखोकी र झाडापखालाका बिरामीहरूको चाप जिल्ला अस्पतालमा प्रतिदिन बढ्दै गएको अस्पतालका प्रमुख डाक्टर पुजन विश्वकर्माले बताउनु हुन्छ ।
जिल्ला अस्पतालमा दैनिक २ सय जनाले स्वास्थ्य सेवा लिएकोमा ५० जना भन्दा बढी रूघाखोकी र झाडावान्ताका बिमारीहरू रहेको डाक्टर विश्वकर्माको भनाइ छ ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि धनकुटा नगरपालिकाका स्थानीयहरू २ वर्षयता दूषित पानी पिउन बाध्य हुनु परेको छ ।
धनकुटा नगरपालिका–२ भीरगाउँको निबुवा खोला र ताङ्खुवा खोलाबाट ल्याएर धनकुटा बजारमा वितरण गरिएको पानी लेदोसहित धमिलो आउने गरेकाले दूषित पानी बाध्यताले खानु परेको धनकुटा नगरपालिका–७ की ५७ वर्षीया हरिमाया कार्कीले बताउनु हुन्छ । खानेपानीको मुहान सफा नहुँदा र मर्मत नगरिएका कारण नगरवासी दूषित पानी पिउन बाध्य हुनु परेको छ ।
धारामा आउने दूषित पानी पिउँदै आउनु परेको गुनासो स्थानीय मोहन श्रेष्ठको छ । श्रेष्ठले भन्नु भयो–‘दूषित पानी पिउँदा झाडावान्तालगायतका सरूवा रोगहरू फैलन सक्ने समस्या बढेको छ । गाउँबस्तीमा त्रास बढेको छ । स्थानीय सरकारले जिम्मा लिएर काम गरिरहेको भएपनि खानेपानी समस्याको समाधान हुन सकेको छैन ।
धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले काम गर्न नसकेको भन्दै विगत ३ वर्षदेखि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ आफैँ उपभोक्ता समितिको अध्यक्ष रहेको भएपनि खानेपानी समस्या सम्बोधनका लागि कुनै पहल नभएको स्थानीय मेघेन्द्र कार्कीको आरोप छ । कार्कीले भन्नु भयो–‘तीन तहका सरकार भएपनि आफूहरूले दूषित पानी पिउनु परेको छ । दूषित पानीका कारण बालबच्चा, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवतीहरू बिरामी पर्ने समस्या बढेको छ ।’
खानेपानी उपभोक्ता समितिले धनकुटा बजारमा करिब ५ सय धारा वितरण गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख तथा खानेपानी सरसफाई समितिका अध्यक्ष चिन्तन तामाङले खानेपानीको मुहानमा केही समस्या रहेको र ट्याङ्कीमा पानी फिल्टर गर्ने सामान राखिएपनि निकै समय अघि बिग्रेकाले समस्या भएको बताउनु भयो । उहाँले जति सक्दो चाँडो फिल्टर गर्ने मेसिन मर्मत गरी छिटो भन्दा छिटो शुद्ध खानेपानी बजारमा पुर्याउन पहल भइरहेको बताउनु भयो ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । सो धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ ।

