प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एसोसिएशनका महासचिव ५५ वर्षीय लिलामणि पौडेलसहित ६ जना घाइते भएका छन् ।
सर्वोच्च परिसरमा ठूलो आवाजमा माइक बजाएर आन्दोलन गर्दै गरेका कानुन व्यवसायी र प्रहरीबिचको घम्साघम्सीमा प्रहरीको लाठी प्रहारबाट ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोल बस्ने नेपाल बार एसोसिएशनका महासचिव पौडेल, काठमाडौँ महानगरपालिका–९, सिनामङ्गल बस्ने नेपाल बार एसोसिएशनकी उपाध्यक्ष ५० वर्षीया रक्षा बस्याल, काठमाडौँ महानगरपालिका–३, रानीबारी बस्ने नेपाल बार एसोसिएशनका पुर्व उपाध्यक्ष ५६ वर्षीय कुमार शर्मा आचार्य, काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५० वर्षीय अधिवक्ता मुकुन्द भट्टराई, ललितपुर जिल्ला गोदावरी नगरपालिकाको ठेचोमा बस्ने ४५ वर्षीय अधिवक्ता प्रकाश महर्जन, काठमाडौँ महानगरपालिका–२९, कोटेश्वर बस्ने ३५ वर्षीय अधिवक्ता रमण कर्ण घाइते हुनु भएको छ ।
घाइते पौडेलको नाक र पाखुरामा चोट रहेको वरिष्ठ अधिवक्ता शम्भु थापाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
वरिष्ठ अधिवक्ता थापाका अनुसार सबैजना सामान्य घाइते भएकाले अस्पताल लगेर उपचार गराउनु परेन ।