व्यवस्था तथा व्यापार कम्पनी जुम्लाले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यान्न अभाव भएको छ ।
दशैं अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यान्न लिएपछि तिहार र छठमा छुट सुविधाको खाद्यान्न सकिएको हो ।
कम्पनीले दशैं, तिहार, छठलाई लक्षित गरेर जुम्लाका लागि १ हजार क्वीन्टल छुट्याएको थियो ।
जसमा ७ ओटा गाउँपालिकालाई सात सय क्वीन्टल र चन्दननाथ नगरपालिकालाई तीन सय क्वीन्टल कोटा छुट्याइएको थियो ।
खाद्यान्न लिनेहरूको भिड लागेपछि सबैलाई बराबर हिसाबले दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताउनुभयो ।
उहाँले भन्नुभयो,–‘छठसम्म भनेर छुट्याइएको १ हजार क्वीन्टल चामल बिक्री भइसकेको छ । तिहार, छठसम्म छुट सुविधाको खाद्यान्न अभाव हुने निश्चित छ ।’
चामल लिनेहरूको भिड नरोकिएकोले थप १ हजार क्वीन्टल चामल पठाउन माग गरेको प्रमुख सुनारले जानकारी दिनुभयो ।
१ हजार क्वीन्टल माग भए पनि पाँच सय क्वीन्टल पठाउने केन्द्रले जानकारी गराएको उहाँको भनाइ छ ।
उहाँका अनुसार बेमौसमी वर्षाले धान बालीमा क्षति पु¥याएकाले छुट सुविधाको चामल लिने सर्वसाधारणको अझै भिड लाग्ने सङ्केत देखिएको छ ।
तातोपानी गाउँपालिका–२ का धनबहादुर बुढाले कात्तिकको पानी र बाढीले धानमा क्षति भएको हुँदा किसान यस वर्ष सरकारी अनुदानकै चामलको भरमा रहेको बताउनुभयो ।
यस वर्ष सरकारले जुम्लामा सरकारी खाद्यान्नको कोटा बढाउन आवश्यक रहेको भन्दै उहाँले सरकारी अनुदानकै चामल अभाव भएमा जिल्लामा भोकमरी हुने चिन्ता व्यक्त गर्नुभयो ।
सबैभन्दा धेरै पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका नागरिकले छुट सुविधाको चामल प्रयोग गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लाले जनाएको छ ।
हाल सम्म ४ लाख ६३ हजार रूपियाँ बराबरको छुट सुविधाको चामल बिक्री भएको कम्पनी प्रमुख तिलक सुनारको भनाइ छ ।
