पाँच महिनादेखि अवरुद्व रहेको पारिबगर खण्डेश्वरी जोड्ने सडक सुचारु नहुँदा बिरामी तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका अपिका सर्वसाधारणले अपिहिमाल–५ को तिम्ला क्षेत्रमा अवरुद्व भएको सडक सुचारु नहुँदा समस्या झेल्नु परेको हो ।
सडक नहुँदा बिरामीहरु स्वास्थ्य चौकी तथा अस्पताल लैजानका लागि अहिले पनि डोको र स्टेचरको भरमा बोक्नु परेको अपिहिमाल गाउँपालिका–३ का स्थानीय विरा रोकायाले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो–‘गोकुलेश्वर, दार्चुला सदरमुकाम र धनगढी लिनु पर्ने बिरामीलाई पाँच घण्टा स्टेचर तथा डोकोमा बोकेर सडक मार्गसम्म पुर्याउनु पर्ने बाध्यता छ । मकरीगाडसम्म सडक सुचारु हुँदा एक घण्टामै गाडी भेटाउन सकिन्थ्यो । एक वर्षजति सहज भएपनि अहिले ठेकेदारले सडक निर्माण गर्न चासो नदिदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ ।
खण्डेश्वरीका स्थानीय धिरज बोहराले अपिहिमाल गाउँपालिकाको मुख्य सडक मार्ग समयमै सञ्चालनमा नल्याइएको कारण स्थानीयले बिरामीलाई चार / पाँच किलोमिटरसम्म बोकेरै सडकमार्गसम्म पुर्याउन बाध्य भएको बताउनु भयो ।

तिम्लामा सडक भासिएपछि गत असार पहिलो सातादेखि सडक अवरुद्व हुँदा बिरामीले मात्र नभई यस क्षेत्रमा दैनिक उपभोग्यवस्तुको मूल्य अत्याधिक मात्रामा बढेपछि स्थानीयहरुले पनि समस्या खेप्नु परेका अपिहिमाल गाउँपालिका– १ का वडा अध्यक्ष धनसिह जागरीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सडक अवरुद्व भएकै कारण दशैको लागि खाद्य संस्थानको चामल पनि ढुवानी हुन सकेको छैन् । सदरमुकामसम्म चामल र पिठो ल्याएको भएपनि मकरीगाडसम्म ढुवानी गर्न सडक छैन् । खच्चड र भरियाबाट ढुवानी गर्दा धुवानी खर्च धेरै पर्ने भएकोले स्थानीयले किन्न नसक्ने अवस्था छ । स्थानीयहरु थप समस्यामा परेका छन् ।’
अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल नभएको र सरकारले घोषणा गरेको १० शैयाको अस्पताल निर्माण हुन नसक्दा प्राथमिक उपचार बाहेकका बिरामीहरुलाई थप उपचारका लागि अन्य जिल्ला पठाउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।

नेपाल खाद्य संस्थान अपिहिमाल गाउँपालिका खण्डेश्वरीका कर्मचारी नरभानसिह ठेकरेले सडककै कारण दशैतिहारमा सर्वसाधरणले खाद्य संस्थानको सस्तो चामल खान नपाएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले गाउँमै मोटो चामल ५५ रुपियाँ प्रतिकेजी पर्छ । तर, त्यही चामल पनि स्थानीयले पाउन सकेका छैनन् । सडक सुचारु गर्नेतर्फ ध्यान नजाँदा यो क्षेत्रमा महङ्गीको मार बढ्दो छ ।’
सडक सुचार गराउने सम्बन्धमा गत असोज २३ गते सडक डिभिजन कार्यालय, अपिहिमाल गाउँपालिका, प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले स्थानीय तथा निर्माण व्यवसायीसँग छलफल गरेर असोज मसान्तभित्रै सडक सुचारु गराउने सहमति गरिएको भएपनि निर्माण व्यवसायीले काम नगरी दिएका कारण समस्या उत्पन्न भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले सडक खुलाउने विषयमा आफूले पनि पटकपटक निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउनु भयो ।
