INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितलाई न्याय र आरोपितलाई कारवाही सुनिश्चित गरः अधिकारकर्मी

कथित बोक्सीको आरोपमा महोत्तरीमा अमानवीय व्यवहार गरिएकी पीडितलाई र हत्या गरिएकी महिलाको परिवारलाई न्याय र आरोपितलाई कारवाही सुनिश्चित गर्न अधिकारकर्मीहरूले माग गरेका छन् ।

जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरियादेवी महतोलाई आसोज २७ गते बिहान कथित बोक्सीको आरोपमा नियन्त्रणमा लिएर अभक्ष कोच्याउनुका साथै केश मुण्डन गरी अमानवीय तरिकाले कुटपिट गरेको घटनाको सम्बन्धमा मानव अधिकारकर्मीहरुको टोलीले कात्तिक ४ गते पीडितसँग भेटेर अवस्था बुझ्नुको साथै घटनास्थलको अनुगमन गरेपछि यस्तो माग गरेका हुन् ।

इन्सेक प्रदेश २ संयोजक राजु पासवान नेतृत्वको अनुगमन टोलीमा अर्जुन साह (थर्ड एलायन्स), शङ्करप्रसाद श्रेष्ठ (नेपाल मानव अधिकार सङ्गठन प्रदेश २), लिला दियाली (ओरेक महोत्तरी), अजय साह(मानव अधिकार सञ्जाल, महोत्तरी), इसरागन यादव (जिल्ला महिला सञ्जाल, महोत्तरी), काजल झा, (जेएचयु–सिसिपी), सविता यादव, महिला अधिकारकर्मी र शिला महतो (बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल) सहभागी हुनुहुन्थ्यो ।

photo20211022mahottari (3)

टोलीले पीडित सुकमरियादेवीको घरमा गएर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै घटनास्थलको अनुगमन, छरछिमेकी तथा सम्बन्धित वडा अध्यक्षसँग समेत घटनाबारे जानकारी लिएका थिए ।

घटनास्थलबाट फर्केर अगुमन टोलीले महोत्तरीमा भएको सुकमरियादेवी महतोको घटना र महोत्तरी गाउँपालिका–३ की ४२ वर्षीया शिलादेवी झालाई कथित बोक्सीको आरोपमा देवरबाटै असोज २८ गते बिहान हत्या भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा दुवै घटनाको मुख्य कारण कथित बोक्सीको आरोप नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट समेत खुलेको हुनाले यस्ता किसिमका घटना पुनः समाजमा नदोहोरियोस् भनी कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको आवश्यकता भएको ठहर गरेको छ ।

विज्ञप्तिमा यी दुई प्रतिनिधि घटना मात्र भएको उल्लेख गर्दै यस्ता किसिमका घटना गाउँ समाजमा दिनहुँ भइरहेको, ‘बोक्सी’को आरोपमा विपन्न तथा गरिब, असहाय र एकल महिलाहरू पीडित हुने गरेका जनाइएको छ ।

बोक्सी आरोप (कसुर सजाय) ऐन, २०७२ रहेपनि अधिकाँश घटनामा संलग्न दोषीलाई कानुन अनुसार सजाय हुन नसक्दा पीडकको मनोबल बढ्दै गएको र पीडितको न्यायप्रति विश्वास घट्दै गएको समेत विज्ञप्तिमार्फत जनाइएको छ ।

समाजमा विद्यमान कथित बोक्सी जस्ता अन्धविश्वास तथा कूरीति हटाउन कानुनी सचेतनामूलक अभियानहरू आवश्यक परेको हुनाले यसप्रति सरकार तथा सम्बन्धित निकाय, सङ्घसंस्था, नागरिक समाज र स्थानीय समुदायको सहयोग र सहकार्यको आवश्यक्ता रहेको उल्लेख गर्दै दुवै घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिमको सजाय र पीडितलाई न्यायसहितको क्षतिपूर्ति दिन सम्बन्धित निकाय समक्ष अधिकारकर्मीले माग गरेका छन् ।

photo20211022mahottari (6)

photo20211022mahottari (13)

अन्य

भिडियो