INSEC Online

📅 २०८३ जेष्ठ २१

अविरल वर्षाका कारण धानबाली नष्ट, नदी टापुमा फसेकाहरुको उद्धार हुन सकेन

असोज ३१ गते साँझबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । अविरल वर्षाका कारण कृषकहरुले लगाएको धानबाली खेतमै नष्ट भएको छ । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको महाकाली, सेती, मोहना लगायतका नदीहरुमा आएको बाढीले गाउँबस्ती र खेतहरु डुवानमा परेका छन् । कृषकहरुले काटेको धान पानीले डुबाएको छ । महाकाली नदी टापुमा फसेका पाँच जना र सेती नदीले बनाएको टापुमा फसेका ६० जना व्यक्तिको दुई दिनसम्म पनि उद्धार हुन सकेको छैन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विजुली तथा सञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण सुदूरपश्चिम प्रदेशका अधिकांश सडकहरु अवरुद्ध भएपछि यातायातका साधानहरु सञ्चालन हुन सकेका छैनन् ।  स्थानीयहरु सञ्चार तथा स्वास्थ्य उपचार सेवाबाट समेत वञ्चित हुनु परेको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार तीन दिनदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा आएको बाढीका कारण माहाकाली नदी टापुमा फसेका भीमदत्त नगरपालिका–९ मुसेट्टीका पाँच जनाकोे दुई दिनदेखि उद्धार हुन सकेको छैन । असोज १ गते कुखुरा फार्ममा कुरुवा बस्न गएका भिमदत्त नगरपालिका–९ मुसेट्टीका ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय सुरज नायक र ५० वर्षीया गौरी खड्का माहाकाली नदीले बनाएको टापुमा फसेका छन् । उद्धारको लागि सेनाको सुर्खेत कमाण्डबाट हेलिकप्टर आउने भनिएता पनि मौसम प्रतिकुलताका कारण अहिलेसम्म आउन नसकेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताउनु भयो । नदीमा फसेकाहरुको उद्धारका लागि प्रहरी टोली समेत खटाइएको डिएसपी न्यौपानेले बताउनु भयो । माहाकाली नदी टापुमा फसेकाहरु ज्यान जोगाउनका लागि रुखमा चढेको भएपनि रुख ढल्ने अवस्थामा रहको स्थानीय रघुविर थापाले बताउनु भयो ।

तीन दीनदेखि  अविरल रुपमा परेको वर्षाले कृषकहरुले काटेको धानबाली र उखु खेती नष्ट भएको छ । कृषकहरुले काटेको धान खेतमा ढुबानमा परेको छ भने धानका बोटहरु ढेलका छन् । अविरल वर्षाका कारण धानबाली नष्ट हुँदा खाद्य समस्या आउने सरोकारवालाहरुले बताएका छन् । बेदकोट नगरपालिका–१० नयाँगाउकी  पार्वती धामीले एक विगाह क्षेत्रफलमा लगाएको धान एकाएक आएको वर्षाले पुरै बाली भिजेर नोक्सान भएको गुनासो गर्नु भयो ।  भिमदत्त नगरपालिका–१२ भुजेलाका कृषक रमेश भट्टले दुई विगाह लिजमा लिएर धान खेती गरेको भएपनि बेमौसमी बाढीले सबै बालीनाली सखाप बनाएको र परिवार पाल्न र साहुको ऋण तिर्न समस्या उत्पन्न भएको बताउनु भयो । जिल्लाका सबै कृषकहरुको धानबाली लगायत तरकारी ,उखुबालीहरुमा पनि बाढीले नोक्सान पुगाएको छ । । कृषि ज्ञान केन्द्र, कञ्चनपुरका प्रमुख डाक्टर दिलबहादुर विष्टले जिल्ला भरी ४८ हजार ४ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा जिल्लाको समग्र उत्पादनको २० देखि ३० प्रतिशत कृषकले धानबाली काटिसकेको बताउनु भयो । जम्मा उत्पादनको २० प्रतिशत धानबाली नष्ट भएको उहाँले बताउनु भयो । महाकाली नदीको पानी गाउँ पस्दा भिमदत्त नगरपालिका र दोधरा चादँनीका १ सय ५० भन्दा बढी घर डुबानमा परेका छन् । भिमदत्त नगरपालिकाको ओदाली र ऐरीका करिब १ सय घर र दोधरा चाँदनीको कुतियाबकर, शान्ती टोल तथा निसानी टोलका गरी ६० घर डुबानमा परेको, मानविय क्षती नभएको र उद्धार कार्यमा प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी न्यौपानेले बताउनु भयो । बेदकोट नगरपालिका–१० का वडाध्यक्ष रामसिंह धामीले खेतमा लगाएको धानबालीमध्ये ४० प्रतिशन धान वर्षातका कारण डुवानमा परेकोले कृषकहरुलाई राहत उपलब्ध गराउनका लागि कात्तिक ३ गते बस्ने नगरकार्यसमितिको बैठकमा निर्णय गरिने बताउनु भयो ।

photo20211019kanchanpur (1)

photo20211019kanchanpur (2)

photo20211019kanchanpur (3)

photo20211019kanchanpur (4)

photo20211019kanchanpur (5)

photo20211019kanchanpur (7)

photo20211019kanchanpur (8)

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार तीन दिनदेखि परेको अविरल वर्षाका कारण कैलाली जिल्लाका सम्पूर्ण क्षेत्रमा कृषकले काटेको धानबाली डुवानमा परेर नष्ट भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का किसान खुशीराम चौधरीले १ बिगाह १५ कट्ठामा रोपेको धान भित्र्याउन नपाउदै पानीले सखाप पारेपछि भोकमरी हुने दुखेसो पोख्नु भयो । धनगढी उपमहानगरपालिका–१५ का भिख्खु रानाले तीन बिगाह जग्गामा ३० हजार ऋण रकम लिएर मलखाद प्रयोग गरी उत्पादन गरिएको धान काटेर भित्र्याउन नपाउदै पानीले बगाएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘धान बेचेर ऋण तिर्छु भनेर सोचेको थिए । अब  कसरी ऋण तिर्ने ? धान भन्दा ऋणको चिन्ता छ ।’ धनगढी उपमहानगरपालिका–१५ का मायाराम चौधरीले गाउँकै गल्ला ब्यापारीसँग धान दिने भाकामा ऋण लिएर मलखाद प्रयोग गरी उत्पादन गरेको धान वर्षाका कारणले डुबानमा परेकोले साहुको ऋण तिर्न समस्या भएको बताउनु भयो । धनगढी उपमहानगरपालिका–८ का उपेन्द्र जोशीले तीन बिगाह जग्गामा रोपेको धान भित्र्याउन नपाउदै पानीले सखाप पारेको बताउनु भयो । धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष नारायणप्रसाद बरालले तत्काल राहतको प्याकेज नरहेको भएपनि कार्यपालिकाको बैठकमा किसानको समस्या बारे छलफल गर्ने र क्षतिपुर्तिको लागि प्रदेश सरकारसँग समन्वय गर्ने बताउनु भयो । धनगढी उपमहानगरपालिका– १५ का वडा अध्यक्ष फुलराम चौधरीले बिपद जोखिम न्यूनिकरण गर्न सरकारले बाली बिमा प्रती किसानलाई आकर्षण गर्न नसकेको कारण यस्तो समस्या आएको बताउनु भयो । जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिबराज जोशीले पानी परिरहेको कारण क्षतिको विवरण आउन बाँकी रहेकोले जिल्लाका १३ ओटै पालिकामा पत्र पठाएर क्षतिको विवरण सङ्कलन गर्ने र जिल्लास्थित बिपत व्यवस्थापन समितिमा पेश गर्ने बताउनु भयो । कर्णाली नदीको पानी टिकापुर नगरपालिका र जानकी गाउँपालिकाको सबै वडामा पसेपछि स्थानीयहरु समस्यामा परेकाले मानवीय उद्धारका लागि प्रहरी परिचालन गरिएकोले तत्काल धानबालीमा भएको क्षतिको विवरण लिन नसकिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक बिष्टले बताउनु भयो ।

photo20211019kailali (3)

photo20211019kailali (4)

photo20211019kailali (5)

photo20211019kailali (7)

photo20211019kailali (10)

photo20211019kailali (11)

photo20211019kailali (14)

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार सिगास गाउँपालिका–५ स्थित ढुङ्गाडबस्तीको दायाँबायाँबाट सेती नदीको बाढी पसेको छ । बाढी पसेर बस्ती टापु बनेपछि सो टापुमा अहिले ६० जना स्थानीय फसेको सिगास गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर धामीले बताउनु भयो । १ सय ५ घरधुरी रहेको बस्तीमा कात्तिक १ गते रातिदेखि बाढी पसेपछि धेरैजसो स्थानीय भागेर ज्यान बचाउन सफल भएपनि ६० जना जति अहिले पनि नदीको बीचमा फसिरहेकाले उद्धारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको धामीले बताउनु भयो । उद्धारका लागि कात्तिक १ गते राति नै प्रहरी टोली खटाइएको भएपनि ७ / ८ घण्टा बढी हिड्नु पर्ने भएकाले पुग्न ढिलो भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीको भनाइ छ । नदीमा फसेकाहरुको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको भएपनि प्रतिकुल मौसमका कारण तत्काल गर्न नसकिएको सूचना अधिकारी भारतीले बताउनु भयो ।

अन्य

भिडियो