INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’को आरोपमा भाउजूको हत्या, आरोपित गिरफ्तार

महोत्तरी गाउँपालिका–३ मडैकी ४२ वर्षीया शिलादेवी झालाई ‘बोक्सी’को आरोपमा असोज २७ गते टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय देवर सञ्जय कुमार झालाई असोज ३० गते गिरफ्तार गरेको छ ।

हत्या गरिएको अवस्थामा शिलादेवीको शव असोज २८ गते घरमै फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशकुमार आचार्यले बताउनु भएको छ ।

गत असारमा सञ्जय र रिङ्कु झाबिच विवाह भएको थियो । विवाहपछि सो परिवार सगोलमा बस्दै आएको थियो ।

सो क्रममा एकदिन शिलादेवीले दिएको केरा रिङ्कुले खाएको र सोही राति रिङ्कुको गर्भपतन भएको भन्दै सञ्जयले शिलादेवीलाई ‘बोक्सी’को आरोप लगाउँदै आएको प्रहरीले जनाएको छ ।

गर्भपतन भएपछि घरमा निको हुने अवस्था नदेखेपछि सञ्जयले रिङ्कुलाई उपचार गराउन जनकपुर लगेको र अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि सञ्जयले धामीझाँक्रीको सहारा लिँदै आएको पनि प्रहरीले जनायो ।

धामीझाँक्री लगाउँदा रिङ्कुले काम्दै ‘म कृष्णा हुँ । आमा शिलादेवीले म र मेरो बुबा लालकिशोरलाई मारेकी छन् । अब सञ्जयको श्रीमती रिङ्कुलाई मार्छु ।’ भनेकाले सञ्जयले शिलादेवीलाई ‘बोक्सी’को आरोप लगाएको स्थानीयले बताएका छन् ।

‘शिलादेवीको हत्या गर्ने योजनाका साथ सञ्जय असोज २७ गते जनकपुरबाट मडै पुगेर घरमा बसे । सोही राति भाउजू सुतिरहेको ओछ्यान मै गएर तीन हथौडा प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी साइकलमा जनकपुर भागे ।’–प्रहरीले पत्रकार सम्मेलनमा उल्लेख गरेको छ ।

शवको पोष्टमार्टम असोज २८ गते महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा गरिएको छ ।

अन्य

भिडियो