INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन महिनादेखि इलाका प्रशासन कार्यालय कर्मचारी विहीन, सेवाग्राही प्रभावित

जिल्लाको उत्तरी क्षेत्र सोरू भेगका सात गाविसलाई लक्षित गरी ०७३ भदौमा जिमा गाविसको सोरूकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय तीन महिनादेखि कर्मचारीविहीन भएपछि सेवाग्राही प्रभावित भएका छन् ।

इलाका प्रशासन कार्यालयका कर्मचारी ०७३ पुस १४ गतेदेखि कार्यालयमा नहुँदा सोरू भेगका जिमा, फोतु, नार्थपु, भिई, धैनाकोट, कालै र रारा गाविसका सेवाग्राही नागरिकता बनाउन दुई दिनको पैदल बाटो हिडेर सदरमुकाम गमगढी जानुपर्ने बाध्यता रहेको जिमा गाविस-९ का रूपसिंह लुहारले गुनासो गरे ।

इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख एक, नायब सुब्बा दुई, एक/एक जना कम्प्यूटर अप्रेटर र सह लेखापाल, दुई जना कार्यालय सहयोगीसमेत सात जनाको दरबन्दी भएपनि कार्यालयमा दुईजना कार्यालय सहयोगी मात्र रहेका छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीका अनुसार इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख पाल्पामा काज सरूवा भई गएका, एक जना सुब्बा केही महिना पहिले कार्य क्षेत्रमा जाँदै गर्दा बाटोमा लडेर घाइते भएपछि उपचार गराउन काठमाडौँ गएका र उतै काजमा बसेका छन् । नागरिकतामा सही गर्ने कार्यालय प्रमुख नभएका कारण अन्य तल्लो तहको कर्मचारीको काम नहुने भएपछि एक जना सुब्बा तथा कम्प्युटर अप्रेटर र सह लेखापाललाई पुस १४ गतेबाट जिल्लामा लगिएपछि इलाका प्रशासन कार्यालयमा कर्मचारीविहीन भएको हो ।

अन्य

भिडियो