INSEC Online

📅 २०८३ जेष्ठ २२

बागचौरमा महिलाको हत्या, सुरक्षा चुनौती बढेको सरोकारवालाको भनाइ

बागचौर नपा–२ गैरी निवासी ५४ वर्षीया रामकली खत्रीको हत्या ०७८ असोज १५ गते गरेको भनिएको घटनाको अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले असोज १७ गते तीन जनालाई गिरफ्तार गरेको छ । अनुसन्धानकै लागि भनेर असोज १७ गते दिउँसो नेपालगञ्जबाट तालिमप्राप्त कुकुर ल्याइएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

शवको अवस्था

असोज १७ गते बेलुका करिब साढे पाँच बजे कुकुरसहित जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर अर्जुन पौडेलको नेतृत्वमा इन्सेक जिल्ला प्रतिनिधि सहितको टोली घटनास्थल पुग्यो । कौतुहल भएका स्थानीयको भीडको बिचमा शव रहेको स्थानमा कुकुरलाई घटना भएको स्थान र शव सुङ्घाइयो । गन्ध सुङ्घाएपछि कुकुर घटनास्थलबाट मृतकको घरसम्म पुगेर घटनास्थलमा फर्कियो । घटनास्थलको प्रकृति हेर्दा शवको अवस्था कसैले हत्या गरेको हुनसक्ने अनुमान लगाउन सकिन्थ्यो । मृतकको दाहिने खुट्टामा काटिएको घाउ, टाउकोको बायाँ कानको भागमा चोट लागेको, बायाँ हात भाँच्चिएर हड्डि बाहिर निस्केको, बायाँ खुट्टाको घुडामुनि भाँच्चिएको जस्तो देखिएको थियो । घाँटीमा समेत चोट लागेको र बायाँ हात कुमको जोर्निबाट फुत्कीएको अवस्थामा थियो । यस्तै मृतकको पछाडिको भागमा निलडाम समेत देखिएको थियो । जुन प्रहरीको घटनास्थल मुचुल्कामा समेत उल्लेख छ ।

माइत जानुको कारण

मृतकका पति हिरालाल खत्रीका अनुसार असोज १७ गते घरमा श्राद्ध थियो । त्यसै कारणले पनि ढिलो गरी १२ बजेतिर खाना खाइएको थियो । खाना खाएपछि घरको अन्य काममा लागेकी उनी बेलुका माइतमा लैनो भैँसीको दुध खान बोलाएको भन्दै जाने कुरा गरिन् । उनी घरबाट असोज १६ गते वेलुका करिब ४ बजेतिर भोली विहान फर्किने भनेर माइततिर लागिन् । भोलिपल्ट बिहान स्थानीयले सडकमा महिलाको शव देखेर घरमा खबर गरेपछि मृत्यु भएको थाहा पाएको मृतकका पतिले बताए । माइली छोरी पार्वती केसीका अनुसार घरका कसैको पनि कसैसँग नराम्रो थिएन । त्यसकारणले कसले हत्या गरेको हो भन्ने अनुमान गर्न सकिने अवस्था छैन । उहाँले भन्नुभयो,–‘अहिले घटनास्थलमा देख्दा हात खुट्टा भाँचिएर फाल्दिए छन्, दोषीलाई कडा भन्दा कडा कारबाही होस ।’

घर र माइतीको दुरी

मृतकको घर र माइतीको दुरी करिब चार किलोमिटरको फरकमा छ । हिडेर करिब २०/२५ मिनेटमा पुग्न सकिन्छ । मृतकका कान्छा छोरा मानबहादुर केसीले आमा करिब चार बजेतिर घरबाट निस्किएको बताउनुभयो । मृतकको शव भएको बाटो हुँदै बेलुका करिब ७ बजेतिर सोही बाटोबाट डोजर हिडेको स्थानीयको भनाइ छ । तर, हत्या कति बजे भयो भन्ने अझै भन्न सकिने अवस्था छैन् । शव भएको बाटो भएर डोजर हिडेको कारण चालक र अन्य दुईजनालाई आशङ्का गरिएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरू गरिएको जनायो ।

शवमा चोट पटक लागेको र हात खुट्टा भाँचिएको जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने प्रहरीको भनाइ छ । मृतक महिलाको शवलाई उनले ओडेकै सलले छोपेको, चप्पल र पछ्यौरी शव भएको ठाउँबाट केही दुरीमा भेटिएको थियो । प्रहरीका अनुसार घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका छन् । घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरेका तीन जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

पछिल्लो तीन महिनामा ३९ जना गिरफ्तार

सल्यानमा पछिल्लो तीन महिनामा ४६ ओटा अपराधका घटना भएको जिल्ला प्रहरी कार्यालय, सल्यानको तथ्याङ्कमा उल्लेख छ । जसअन्तर्गत कर्तव्य ज्यान सम्बन्धि दुई, ज्यान मार्ने उद्योग चार, भवितव्य पाँच, विष सेवन गरी आत्महत्या तीन, झुण्डिएर मृत्यु ११ रहेका छन् ।

यस्तै साधारण चोरीको १, हातहतियार तथा खरखजनाको २, बहु विवाहको ३, बाल विवाह १, जबरजस्तीकरणीका ६, जबरजस्ती करणी उद्योग ३, बोक्सी आरोपको १, अभद्र व्यवहार ३ र आत्महत्या दुरूत्साहनको १ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ती मध्ये घटनामा संलग्न भएको आरोपमा ३९ जनालाई गिरफ्तार गरेको र पाँच जना फरार रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फरार रहेकाको पनि खोजी भइरहेको छ ।

नेपालको संविधानले नागरिकको पहिलो मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई राखेको छ । तर पछिल्लो समयमा सल्यानमा सुरक्षा चुनौती बढेको सरोकारवाला बताउँछन् ।

अधिकारकर्मी निमबहादुर नेपालीका अनुसार जिल्लाको प्रमुख सुरक्षासँग जोडिएको प्रहरी प्रशासनले आफ्नो तहबाट प्रभावकारी ढङ्गबाट काम गरेपनि विभिन्न बहानामा अभियुक्तहरू फुत्किने गरेको बताउनुभयो ।

यस्तै अधिवक्ता विष्णु शर्माले सुरक्षा चुनौतीलाई कम गर्न आम नागरिक, नागरिक समाज, राजनीतिक दल, लगायतको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । ‘अपराधिक कृयाकलापमा संलग्न भएपनि पावर वा पैसाको भरमा छुटकारा पाइहाल्छ भन्ने सोचको कारण अपराधिक कृयाकलापले प्रश्रय पाएका छन्, यसमा हामी सचेत हुन जरूरी छ’ उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले शान्ति, सुरक्षा कायम राख्न प्रहरी प्रशासन प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले समाजमा भएका घटना न्यूनीकरण गर्न र पीडितलाई न्याय दिने विषयमा प्रहरी प्रशासन सक्रिय रूपले लागेको बताउँदै यदि कसैले पीडितलाई घटना लुकाउने गरी न्यायलाई प्रभावित बनाउन खोज्छ भने त्यस विषयको सूचना दिन आग्रह गर्नुभयो ।

पीडितको पक्षमा सधै आफूहरू उभिएको भन्दै उहाँले समाजमा लुकेर रहेका घटनालाई उजागर गर्न सचेत नागरिकको हैसियतले सबै लाग्नु पर्ने बताउनुभयो ।

अन्य

भिडियो