नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा पनि अपिहिमाल गाउँपालिका क्षेत्रका २० ओटा विद्यालयमा अध्ययनरत २ हजार विद्यार्थीहरु पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका छन् ।
कोभिडका कारण ढिलो गरी सञ्चालनमा आएका विद्यालयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरुको पठनपाठन थप प्रभावित भएको छ । ढिलो गरी विद्यालय सञ्चालनमा आएपनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
सदरमुकाम खलंगाबाट दुई दिनमा पुगिने अपिहिमाल गाउँपालिकाका विद्यालयहरु भदौ २७ गतेदेखि भौतिक उपस्थितिमा सञ्चालनमा आएका भएपनि पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको हो ।
समयमै पाठ्यपुस्तक नपुग्दा पुरानै किताबबाट अध्ययन गरिरहेको सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत रितु रोकायाले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘अहिलेसम्म चार ओटा मात्रै नयाँ किताब पाएका छौँ । किताब नै नपाएपछि अन्यौल भएको छ ।’
अपिहिमाल गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक गोबर्धनसिंह धामीले विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न नसक्दा पठनपाठनमा समस्या उत्पन्न भएको बताउनु भयो ।
अङ्ग्रेजी माध्यममा पढाई सञ्चालन गरिएको सरस्वती आधारभूत विद्यालयमा विद्यार्थीले किताब पाउन नसक्दा पुरानै किताबको आधारमा अहिले पनि पठनपाठन गराउनु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।
कोभिड सङ्क्रमण फैलने डरले जारी गरिएको निषेध आदेशका क्रममा घरमै सीमित भएका विद्यार्थीले पढाई सुरु भएको आधा महिना हुँदासम्म पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा थप समस्या उत्पन्न भएको छ ।
हिमालय आधारभूत विद्यालय, पाथाका प्रधानाध्यापक नरेन्द्रसिंह मन्यालले समयमै किताब नआउँदा पाठ्यक्रम परिवर्तन भए नभएको केही जानकारी प्राप्त नभएको तर पुरानै किताबबाट पठनपाठन सुचारु गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘किताब सदरमुकामसम्म ल्याएको छ भन्ने खबर सुनेर ढुवानीको लागि खच्चड पठाएका छौँ । कति पाठ्यपुस्तक पुग्यो एकिन भएको छैन् । दुई / तीन दिनभित्र विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउन सकिने आशा गरिएको छ ।’
अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख विरेन्द्रसिह साउदले गाउँपालिका क्षेत्रमा सञ्चालित २० ओटै विद्यालयमा केहि पाठ्यपुस्तक अपुग भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सुरुमा बजेट निकासा ढिलाई हुँदा किताब खरिद गर्न ढिलाइ भयो । अहिले प्राथमिक तहका किताबहरु पुगिसकेका छन् । केही पाठ्यपुस्तक पुग्ने क्रममा छन् ।’
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले सदरमुकाम खलंगाकै केही अङ्ग्रेजी माध्यममा पढाई सञ्चालन गरेका विद्यालयमा समेत पाठ्यपुस्तक अपुग भएकोले पाठ्यपुस्तक ल्याउनका लागि प्रयास भइरहेको बताउनु भयो ।
नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत शिक्षा र बालबालिकाको हकको व्यवस्था गरिएको भएपनि जिल्लास्थित दुर्गम हिमाली क्षेत्रका विद्यालयमा अध्ययरत बालबालिकाहरुले समयमै पाठ्यपुस्तक पाउन नसकेको अवस्था छ ।