दैनिक उपभोग्य खाद्यान्य तथा तरकारीको मूल्य पछिल्लो समय अत्यधिक वृद्धि भएसँगै ठूला चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन् ।
चाडपर्व नजिकिएसँगै उद्योगी–व्यापारीले खाद्य वस्तु लगायतका हरेक सामग्रीको आफूखुसी मूल्य निर्धारण गर्दा सरकार र उपभोक्ताको अधिकारको क्षेत्र हेर्ने संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो नदेखाएको उपभोक्ताले गुनासो गरिरहेका छन् ।
काठमाडौँको खरिबोट बसेर कलेज पढ्ने अस्मिता भुसाल दैनिक नयाँ बानेश्वर चोकको सडकपेटीमा बेलुकी पख लाग्ने तरकारी बजारमा तरकारी किन्न जाने गर्नु हुन्छ ।
घरबाट मासिक रूपमा परिवारले पठाएको सिमित पैसामा काठमाडौँको कोठाभाडा, कलेज फि र आफ्नो खर्चको व्यवस्थापन गर्ने उहाँ बिगतको एक महिनामा तरकारी र खाद्यान्नमा भएको मूल्यवृद्धिले गर्दा आजकल कसरी आफ्नो खर्च व्यवस्थापन गर्ने होला भनेर हैरान हुनुहुन्छ ।
अस्मिता जस्तै तनाबमा हुनुहुन्छ शङ्खमुलको सुकुम्बासी बस्तीमा डेरा गरेर बस्ने र महाबौद्धमा भारी बोकेर दैनिक गुजारा चलाउने रामेछापका श्याम तामाङ पनि ।
तामाङले भन्नु भयो, ‘कोभिडले गर्दा लामो समय काम नपाउँदा हप्तौँ एक छाक खाएर सुतें । झन् आजकल बजारमा तरकारी र खाद्यान्नको मुल्यवृद्धि हुँदा हामीजस्ता दिनभर काम गरेर बेलुकी आफ्नो छाक टार्ने मजदुरको फेरी भोकै सुत्ने अवस्था आउन थाल्यो ।’
अस्मिता र श्याम त उदाहरण मात्र हुन्, यसको असर काठमाडौँका आम उपभोक्तामा परेको छ ।
बजारमा पछिल्लो एक महिनाको अन्तरमा दाल, चामल, गेडागुडी फलफूल, तरकारी तथा तेल र घ्यूमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । त्यस्तै चालू आर्थिक वर्ष सुरु भएयता नै खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ भने बजारमा चिनीको पनि अभाब देखिन थालेसँगै खुद्रा पसलेले उपभोक्ताबाट प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म अतिरिक्त असुल्न थालेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार गत एक महिनाको अन्तरमा सबैजसो तरकारीको मूल्यवृद्धि भएको छ । समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार यही भदौ १२ गते अदुवाको मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेकोमा एक महिना अन्तराल अर्थात् असोज १२ मा १ सय २०, टमाटर ४० रुपैयाँ रहेकोमा ७० रुपैयाँ पुगेको हो ।
त्यस्तै, अनार प्रतिकिलो २ सय ५५ रुपैयाँ रहेकोमा ३ सय २५ , स्याउ २ सय २० रहेकोमा २ सय ५०, रातो आलु ५३ रुपैयाँ रहेकोमा ६० रुपैयाँ, सेतो आलु ३९ रुपैयाँ रहेकोमा ४४ रुपैयाँ, काउली ६५ रुपैयाँ रहेकोमा ९० रुपैयाँ प्रतिकिलो एक महिनाको अन्तरमा पुगेको हो । त्यस्तै लोकल काँक्रो ३० रुपैयाँ रहेकोमा ६० रुपैयाँ पुगेको छ ।
चामल, दाल, चना, मटर, पीठो, आँटाआदिमा पनि प्रतिकेजी १० रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको कालिमाटी क्षेत्रका थोक विक्रेता मुकेश सहनी बताउनु हुन्छ ।
मन्त्रालयमा मन्त्री नै छैनन्
योभन्दा अघिल्ला वर्षका दशैँ र तिहारका बेला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीहरू आफैँ अनुगमनमा जाने गर्दथे। तर यो वर्ष मन्त्रालयमा मन्त्री नै छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सो मन्त्रालय राखेका राख्नु भएको छ । तर उहाँले दुई महिनादेखि मन्त्रालयमा पाइला समेत टेक्टु भएको छैन । बजार मूल्यवृद्धिले मन्त्रालयमा मन्त्री अभाव खट्किरहेको देखिन्छ ।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले पनि एक्कासि मुल्यवृद्धि भएको स्वीकार गर्नु भयो । उहाँले भन्नु भयो– ‘कतिपय ठाउँमा त नेपाली उत्पादनको उपस्थिति नै देखिएन । जस्तो– पोखरामा चिनी छैन, सुर्खेतमा हेर्दा पनि नेपाली चिनी छैन । विराटनगरमा पनि नेपाली चिनी छैन ।’
रेग्मीका अनुसार, सरकारले जिल्ला जिल्लामा मूल्यवृद्धि नियन्त्रण गर्ने योजना बनाएको छ । सोहीअनुसार देशका ८४ ठाउँमा साल्ट ट्रेडिङ्ग कर्पोरेसन, खाद्य व्यापार कम्पनी र दुग्ध संस्थानको संलग्नतामा असोज १ गतेदेखि सुपथ मूल्य बजार समेत सञ्चालन गरेको छ ।
मन्त्रालयले अनुगमनको पनि अनुगमन गर्ने भएकाले सोहीअनुसार रणनीति बनाएको उहाँले बताउनु भयो । काठमाडौँको बजार अनुगमनका लागि मन्त्रालयको खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागले पठाएको १२ जना रहेको एउटा र विभागको आठ जनाको ६ ओटा टोली रहने रेग्मीले बताउनु भयो ।