INSEC Online

📅 २०८३ जेष्ठ २१

सूचनाको माग गर्दै सबैला नगरपालिकाको कार्यालय अगाडि आठ दिनदेखि धर्ना

सबैला नगरपालिकामा रितपूर्वक माग गरिएको सूचना नगरपालिकाले नदिएको भन्दै असोज ४ गतेदेखि नगरपालिकाको कार्यालय अगाडि भ्रष्टाचारविरूद्ध सङ्घर्ष समितिमा आबद्ध अभियन्ताहरू धर्नामा बसेका छन् ।

नगरपालिकाकोे विकास बजेटमा व्यापक भ्रष्टाचार भएको भन्दै सबैलाका सुरेश यादवको संयोजकत्वमा ‘भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समिति’ गठन गरिएको छ ।

समितिकै पदाधिकारीहरूले जेठ २३ गते सडक बाटो निर्माण, मर्मत सम्भार, शिक्षा, स्वास्थ्य, कृषि, कोभिड विशेषका लागि खर्चिएको रकम, इन्धन खर्चलगायतका नौ ओटा शीर्षकमा सूचना माग गरेका छन् । सो अघि पटकपटक मौखिक रूपमा समेत सूचना माग गर्दै आएको संयोजक सुरेश यादवले बताउनुभयो ।

२०७७/०७८ को बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेण्टाइन सञ्चालन र रोकथामका लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना माग गरेका छन् ।

यस्तै, कोभिड महामारीमा वितरण भएको राहत प्राप्तकर्ताको नामावली, सङ्घ र प्रदेश सरकारले पठाएको सशर्त अनुदानको स्पष्ट विवरण र नगरका पोखरीहरूको आम्दानीको विवरण, राम जानकी मावि सतोषरलाई नमुना विद्यालय शीर्षकमा प्राप्त सम्पूर्ण आम्दानी र खर्चको विवरण, दुर्गापथको डीपीआरको प्रतिलिपी, स्थगनको कारण र नगरपालिकाको भवन निर्माणमा भएको सम्पूर्ण खर्चको सूचना उपलब्ध गराउनुपर्ने समितिको माग छ ।

सबैला नगरपालिकाका प्रमुख विजयशङ्कर साहले युवाहरूले माग गरेको सूचना नदिई बेवास्ता गर्दा नगरका युवाहरू धर्नामा बस्नुपर्ने बाध्यता भएको समितिका महासचिव मेथल साहले बताउनुभयो ।

नगरपालिकामा विकास बजेटदेखि लिएर अन्य खर्चमा समेत भ्रष्टाचार भएकै कारणले गर्दा युवाहरूलाई सूचना नदिई नगरपालिका प्रमुखले आनाकानी गरिरहेको आरोप लगाउँदै असोज ४ गतेदेखि धर्नामा बस्नुपर्ने बाध्यता भएको स्थानीय युवा मनोज पासवानले बताउनुभयो ।

उनीहरूले असोज ४ गतेदेखि नगरपालिकाको कार्यालय अगाडि दिँदै आएको धर्नामा स्थानीय बासिन्दाले समर्थन जनाउँदै आएको छ ।

सबैला नगरपालिकाका प्रमुख विजयशङ्कर साहले कोभिड महामारीको चरम उत्कर्षको बेलामा जेठ २३ गते नगरपालिकामा सूचना माग गरिएको हुँदा आफूहरूले जनशक्ति अभावले गर्दा तत्कालै सूचना दिन नसकेको भएपनि अहिले मागे बमोजिमको सूचना दिन तयार रहेको इन्सेक धनुषा प्रतिनिधिलाई बताउनुभयो । उहाँले केही युवाहरूले राजनीतिक प्रतिशोध राखेर आफूलाई बदनाम गराउन लागेको आरोप लगाउनुभयो ।

photo20210928dhanusha (1)

photo20210928dhanusha (2)

अन्य

भिडियो