INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्दै दुल्लु नपा–८ का ६१ वर्षीय नन्दाराम भण्डारीलाई दैलेख जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले असोज ७ गते उक्त फैसला गरेको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

सोही मुद्दामा प्रहरीमा दिएको उजुरी विपरित आरोपित भण्डारीबाट बलात्कार भएको होइन भनी वकपत्र गरेकी पीडित बालिकाकी आमालाई पाँच हजार रूपियाँ जरिवाना गर्ने फैसला भएको न्यौपानेले बताउनुभयो ।

उजुरी गर्दा पाँच हप्ताको गर्भ रहेको भनेकोमा कानून अनुसार गर्भपतन गराएको तर, आरोपित पक्षलाई कारबाहीबाट बचाउन उजुरीमा उल्लेखित व्यहोरा विपरित वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय गरेको जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले प्रष्ट्याउनुभयो ।

आरोपितले ०७७ वैशाख १० गते झारफुक गर्ने बहानामा बालिकलाई आफ्नै घरमा बोलाएर भण्डारीले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण त्यही दिन जिल्ला अस्पताल दैलेखमा भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ १९ गते घरबाटै गिरफ्तार गरेको थियो । ०७७ असार ८ गते भएको थुनछेक बहसपछि आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो ।

अन्य

भिडियो