दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्याउने अलोकतान्त्रिक कृयाकलापप्रति असहमति व्यक्त गर्दै मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहन र लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न जवाफदेहिता निगरानी समितिले अपिल गरेको छ ।

समितिका अध्यक्ष चरण प्रसाईद्वारा फागुन २२ गते हस्ताक्षरित अपिलमा मधेसी मोर्चालाई स्वतन्त्रताको सम्मान गर्न अपिल गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध गर्न ध्यानाकर्षा गराइएको छ । ‘आमनागरिकसमक्ष पनि अरुको तर्क र विचार अभिव्यक्ति गर्ने मौलिक अधिकारको सम्मान गर्न र मुठभेड निम्तने काममा सामेल नहुन अपिल गर्छौँ ।’-निगरानी समितिद्वारा जारी अपिलमा भनिएको छ ।
‘लोकतन्त्रको प्राण नागरिक सर्वोच्चतामा रहेको हुन्छ । त्यसैले बिना त्रास र दबाब नागरिकले वार्ता गर्ने, तर्क गर्ने, सङ्गठित हुने, निर्वाध आवागमन, पेसा व्यवसाय गर्ने अधिकारलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनले मौलिक र अनुल्लङ्घनीय नागरिक हककारूपमा व्यवस्थित गरेका छन् ।’-अपिलमा उल्लेख छ ।
बहुदलीय व्यवस्थामा नागरिकको सङ्गठित आवाजका प्रतिनिधि राजनीतिक सङ्गठनहरू नै हुने कुरालाई स्मरण गराउँदै समितिले सभ्य राजनीतिको अगुवा प्रतिनिधिका रूपमा शान्तिपूर्ण सभा, तार्किक र निर्वाध कृयाकलाप गर्ने कामलाई आत्मसात गर्नु र सहयोग गर्नु राजनीतिक दलहरूको नियमित काम मात्र होइन कर्तव्य पनि हुने जनाएको छ ।
समितिद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ-‘नेपालमा केही समय यता हाम्रा अगुवा राजनीतिक सङ्गठनद्वारा नै सङ्गठितरूपमा अर्काको अभिव्यक्ति गर्ने अधिकारउपर बाधा विरोध गर्ने चरित्र मौलाउँदै गएको छ । यसै सन्दर्भमा नेकपा (एमाले) द्वारा आयोजित मेची-महाकाली राष्ट्रिय एकता यात्रामा भिडन्त हुनसक्ने भनी मधेस केन्द्रित दलका अगुवाहरूको अभिव्यक्ति आएको छ । सप्तरीमा तिनका कार्यकर्ताले एमालेका प्रचारकलाई मोसो दलेका छन् । मधेसी मोर्चाले एमालेद्वारा पूर्वघोषित कार्यक्रमलाई बाधा गर्ने गरी समानान्तर विरोधका कार्यक्रमहरूको घोषणा गरेको छ ।’