INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई ०७७ माघ ११ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–४ का ४५ वर्षीय थीरबहादुर दर्जीलाई भदौ ३० गते जन्म कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले कसुर गरेको ठहर गर्दै जन्म कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार धनकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ फागुन १६ गते इलाका प्रहरी कार्यालय वेल्टारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा चैत ८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीशको ०७७ चैत ९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ फागुन १६ गते गरिएको थियो ।

अन्य

भिडियो