पछिल्लो मधेस आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडको घटना बारे छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको टोलीले फागुन १९ गते मोरङको रङ्गेलीमा सरोकारवालाहरूसँग घटनाबारे छलफल गरेको छ ।

गत वर्षमाघ ७ गते युवा सङ्घ नेपालले तराई मधेस जागरण अभियान अन्तर्गत रङ्गेलीमा जनसभा कार्यक्रम आयोजना गर्ने क्रममा आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबिच झडपको क्रममा तीन जनाको मृत्यु भएको थियो ।
टोलीले सोही घटनाको विषयमा छुट्टा छुट्टै रूपमा आन्दोलनरत मधेसी मोर्चाका स्थानीय नेता, घाइते, मृतकका आफन्त तथा परिवार, अन्य पीडितलगायतसँग भेटघाट गरी घटनाबारे बुझेको छ । जाँचबुझ आयोगका अध्यक्ष गिरिशचन्द्र लालको नेतृत्वको टोलीले घटनास्थलको समेत अध्ययन गरेको छ ।

आयोगका अध्यक्ष लालले मधेस आन्दोलनको क्रममा भएका घटना बारे सत्य तथ्य बुझेर सरकारलाई सुझाव बुझाउने बताए ।
कार्तिक १ गते देखि जाँचबुझ थालेको आयोगले अहिलेसम्म टिकापुर घटनासहित झापा, सुनसरी र मोरङका विभिन्न घटनाको अध्ययन गरिसकेको अध्यक्ष लालले बताए । आयोगले ६ महिनाभित्र आन्दोलनको क्रममा भएको घटनाको अध्ययन गरी सरकारलाई प्रतिवेदन पेश गर्ने छ ।