INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१५ वर्षीया बालिका बलात्कार भएको घटनाका आरोपित आठवीसकोट नपा–१० का वडाअध्यक्ष ४५ वर्षीय गङ्गाराम चनारा र उनका कान्छा छोरा २२ वर्षीय कुस्माकर चनारा विरूद्ध पीडित पक्षले ०७८ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा उजुरी दिएको छ ।

कोभिड महामारीले सङ्क्रमण बढेपछि भएको पहिलो र दोस्रो लकडाउनको समयमा आरोपित कुस्माकरले पटक पटक बलात्कार गरेको पीडित बालिकाको आरोप छ । घटनाका विषयमा अरूलाई भने मार्ने धम्की दिई मुख थुनेर बलात्कार गरेको र हाल आफ्नो महिनावारी रोकिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

पीडितले थप्नुभयो ‘वडाध्यक्ष गङ्गाराम चनाराले पनि ०७८ भदौ १७ गते राति सुतेको समयमा टाउको थिचेर कानमा औँला घुसाई बलात्कारको प्रयास गरे ।’

घटनाका सम्बन्धमा वडाध्यक्ष चनाराकी पत्नी ४२ वर्षीया सुनीता चनारालाई बताउँदा आरोपित दुबैलाई बचाउन खोजेकाले मतियारको रूपमा उनलाई पनि कारबाही हुनुपर्ने पीडितको माग छ ।

बालिकाले मुख्य आरोपित दुई जना विरूद्ध ०७८ भदौ २० गते आठवीसकोट नगरपालिकामा उजुरी दिएको नगरपालिकाकी उप–प्रमुख गीता नेपालीले जानकारी दिनुभयो ।

उजुरीपछि न्यायिक समितिको सिफारिसमा ०७८ भदौ २० गते आठवीसकोट नगर अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । नगर अस्पतालका प्रमुख मनिराज शाहका अनुसार स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा ७ देखि १० हप्ता सम्मको बच्चा देखिएको छ ।

वडाध्यक्ष गङ्गाराम र उनकी पत्नी सुनिता सम्पर्कमा आएको र अर्का आरोपित कुस्माकर फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्स्पेक्टर कपिल शाहीले जानकारी दिनुभयो ।

अन्य

भिडियो