जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नुहुँदा सेवाग्राहीहरुले समस्या भोग्दै आएका छन् ।
२७ जनाको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय, डोटीमा हाल १४ जना मात्रै कार्यरत रहेका छन् । दरबन्दी अनुसारका कर्मचारी नभएको पाँच वर्ष वितिसक्दा समेत रिक्त कर्मचारीहरुको पदपुर्ति नहुँदा सेवाग्राहीहरुले समस्या भोग्दै आएका हुन् ।
जिल्लास्थित अन्य सरकारी कार्यालयहरुको समेत अनुगमन गर्ने जिम्मेवारी प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय, डोटीमा अधिकृत स्तरका कर्मचारी नहुँदा सेवाग्राहीलाई थप समस्या हुने गरेको हो ।
कार्यालयमा कर्मचारीको अभावका कारण दैनिक नागरिकता लिने, राहादानि प्राप्त गर्ने, विभिन्न सिफारिस लिन आउने व्यक्तिहरुले दुई ÷ तीन दिनसम्म कुर्नु पर्ने बाध्यता रहेको जिल्ला प्रशासन कार्यालयमा राहादानि लिन आउनु भएका शिखर नगरपालिकाका स्थानीय पदमराज जोशीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– राहादानि लिन हिजो आएको हु । काम हुन नसकेपछि यतै बसेको छु । आज पुनः जिल्ला प्रशासनमा जाँदै छु ।
राहादानि, नागरिकतालगायतका कागजाँगहरुमा अधिकृतको हस्ताक्षर अनिवार्य भएको तर अधिकृतको हस्ताक्षर गराउँनकै लागि सेवाग्राहीले दिनभरी कुर्नु पर्ने बाध्यता रहेको अर्का सेवाग्राही राधिका बोहराले गुनासो गर्नु भयो ।
जिल्ला प्रशासन कार्यालय, डोटीमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएकोले सेवाग्राहीहरुले छिटोछरितो रुपमा काम गराइ दिन भन्दै आफूसँग पनि सहयोग माग्ने गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्लले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बिदेशबाट आएका कोभिड प्रभावितहरुको डाटा सङ्कलन गर्ने, राष्ट्रिय परिचय–पत्र बनाउने विभिन्न फर्महरु दर्ताका लागि सिफारिस दिनेलगायतका थुप्रै काम जिल्ला प्रशासनले गर्नु पर्छ । तर, दरबन्दी अनुसारका कर्मचारी छैनन् । सेवा प्रवाह प्रभावकारी नहुँदा दैनिक सेवाग्राहीको भिडभाड हुने गरेको छ ।’
जिल्ला प्रशासन कार्यालयमा दरबन्दी अनुसारका कार्मचारी नहुँदा सेवाग्राहीलाई समस्या हुदै आएकोले यसका लागि आफूले पनि पहल गर्दै आएको नेपाली काङ्ग्रेस, डोटीका जिल्ला सचिव नारायण जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘शान्ति सुरक्षा र सुशासनको जिम्मा लिएको कार्यालयमा कर्मचारी अभाव छ । सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । यो समस्या समाधानका लागि सबैको साझा पहल र सहयोग अवाश्यक छ ।’
जिल्ला प्रशासन कार्यालय, डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले प्रमुख जिल्ला अधिकारीको सरुवा भइसकेको र अधिकृत स्तरका कर्मचारी अभाव भएकोले सेवा प्रवाहमा समस्या भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दरबन्दी अनुसारका कर्मचारी छैनन् । जती कर्मचारी छौँ सबैले छिटोछरितो सेवा दिने प्रयास गरिरहेका छौँ । कर्मचारी दरबन्दीका लागि गृह मन्त्रालयका सचिवलाई जानकारी गराइएको छ ।’