मिथिला बिहारी नपा–५ ललिया बस्ने ५५ वर्षीय बुबा चेता भनिने रामवृक्ष मण्डल र २५ वर्षीय पत्नी अम्बिका मण्डललाई भदौ ८ गते बिहान धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले ३० वर्षीय भागेश्वर मण्डललाई भदौ ८ गते बिहान गिरफ्तार गरेको छ ।
हत्या गरिएका बुबा र पत्नीबिच अनैतिक सम्बन्ध भएका कारण हत्या गरेको आरोपित भागेश्वर मण्डलले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले इन्सेक धनुषा प्रतिनिधीलाई बताउनु भयो ।
स्थानीय बासिन्दाहरूका अनुसार भागेश्वर मण्डल एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्, घर फर्केदेखि उनीहरूको घरमा विवाद हुँदै आएको थियो ।
गए राति विवादकै क्रममा बुबा र पत्नीको हत्या गरेर भागेश्वरले घर भन्दा ३५ मिटरको दुरीमा रहेको पोखरी नजिक खाल्टो खनेर गाडेको प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रानाभाटले जानकारी दिनु भयो ।
मृतक रामवृक्ष मण्डलले स्थानीय शिव मन्दिरको साँचो राख्दै आउनु भएको छ । रामवृक्षका भाइ चन्द्रहंस मण्डल मन्दिरको साँचो लिन आरोपितको घरमा गएपछि घरमा रगतको छिटा देखेको बताउनु भयो ।
दाजु नभेटिएपछि भतिज भागेश्वरलाई सोध्दा आफूले बुबा र पत्नीलाई हत्या गरी गाडेको बताएपछि घटना बाहिरिएको थियो ।
प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन् गरेको छ । शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।