INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमा सामाजिक सुरक्षा भत्ताका लागि इन्सेक प्रतिनिधिद्वारा पहल

बारागढी गाँउपालिकाको कार्यालयले गत आर्थिक वर्षको असारमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूले इन्सेक बारा जिल्ला प्रतिनिधिसँग सामाजिक सुरक्षा भत्ताका लागि पहल गर्न अनुरोध गरेका छन् ।

तेस्रो चौमासिकमा वितरण गर्नुपर्ने रकम नपाएको भन्दै अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुले भदौ २ गते इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई सोको लागि पहल गरिदिन बारागढी गाँउपालिका–६ गढहलको चण्डाल चौकमा बैठक बसी निर्णय गरेका हुन् ।

अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले बैठक गरी अनुरोध गरेपछि इन्सेक प्रतिनिधि पौडेलले बारागढी गाँउपालिका–६ का वडा अध्यक्ष निरजकुमार साह, पञ्जिकरण शाखाका सरोजकुमार साह र प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीसँग छलफल गरी निकास निकाल्न आग्रह गर्नु भएको छ ।

सो छलफलका क्रममा वडा अध्यक्ष साहले पञ्जिकरण विभागबाट रकम नआएकाले गत आर्थिक वर्षको अन्तिम चौमासिकको रकम वितरण नभएकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकसँगै वितरण गर्न प्रयास गरिरहेको बताउनु भएको छ ।

उहाँले तेस्रो चौमासिकमा थोरै रकम आएकाले वितरण गर्दा विवाद हुने भएकाले वितरण नगरेको जानकारी दिनु भएको छ ।

वडाध्यक्ष साहले पञ्जिकरण विभागमा गाउँपालिकाको कार्यालयले २०७७ फागुन, २०७८ जेठ र २०७८ असार १५ गते गरी जम्मा तीन पटक माग गरेपनि निकासा नपठाएकाले वितरण गर्न नसकेको बताउनु भयो ।

साउन १० गते पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता छुट भएका नागरिकको विवरण पठाउन गाउँपालिकाको कार्यालयलाई पत्र पठाए अनुसार गाउँपालिकाको कार्यालयले साउन २० गते विवरण पठाएपनि रकम निकासा नभएकाले वितरण गर्न नसकेको बताउनु भयो ।

पहिला वडा कार्यालयले ज्येष्ठ नागरिकलाई घरघरमा गएर नगद वितरण गरेकाले गत आर्थिक वर्षको प्रथम चौमासिकदेखि अनलाइन सेवाबाट वितरण गरेपनि समस्या आइरहेकाले अब समस्या नआउने गरी समाधान गर्न पहल गरिरहेको पञ्जिकरण शाखाका सरोजकुमार साहले बताउनु भयो ।

बारागढी गाउँपालिकाको कार्यालयको एक नम्बर प्राथमिकतामा परेको विषय ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम भएको भन्दै बारागढी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले प्रत्येक दिन समाधान गर्ने प्रतिबद्धता गर्नु भयो ।

स्वास्थ्यमा समस्या भएकाले र समयमा भत्ता नपाएर चिकित्सकको सल्लाह अनुसार खान दिएको औषधि किनेर खान नसकेको सोही टोलका ७६ वर्षीय इन्द्रजित पण्डितले बताउनु भयो ।

अन्य

भिडियो