गत साउन १५ गतेबाट व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको छ ।
नेपाल भएर व्यास गाउँपालिका पुग्न सक्ने बाटो नहुनु र माहाकली नदीमा लगाइएका तुइन माफर्त खाद्यान्न धुवानी हुदै आएको भएपनि भारतीय एसएसबीले सबै तुइन काटिदिएपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको हो ।
व्यास गाउँपालिकाका स्थानीयहरु भारतीय बजारमा निर्भर छन् । माहाकाली नदीमा तुइनको माध्यमबाट भारतीय बजारबाट दैनिक उपभोग्यलगायत खाद्यान्न सामाग्री ल्याउने गरिएकोेमा एसएसबीले तुइन लगाउनमा कडाइ गरेपछि व्यास गाउँपालिका वडा नम्बर २, ३, र ४ मा खाद्य सङ्कट उत्पन्न भएको हो ।
गाउँको खेतबाट उत्पादन हुने अन्नले तीन महिनासमेत खान नपुग्ने मालका स्थानीय कल्यानसिंह धामीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँमा चामल पाइदैन् । नेपालतिर खच्चड हिड्न समेत बाटो छैन् । सुनसेराभन्दा माथिल्लो क्षेत्रमा पहिरोका कारण खाद्यान्न धुवानी गर्न सकिएको छैन् । पहिरो गएका कारण ठाउँ ठाउँमा बाटो भत्किएको छ ।’
खाद्यान्न अभाव भएपछि स्थानीयहरु दुई दिन लगाएर नेपालकै बाटो भएर खलंगा आउनु परेको र खलंगाबाट दुई दिन लगाएर खाद्यान्न ढुवानी गरेर फर्किनु परेको स्थानीय नरेन्द्रसिंह धामीले दुखेसो पोख्नु भयो ।
व्यास गाउँपालिका–३ का दिपक डडालले सरकारले केही दिन भित्रै खाद्यान्न ढुवानी गर्ने वातावरण नबनाए व्यास क्षेत्रमा भोकमारी सुरु हुने बताउनु भयो ।
उहाँले भन्नु भयो– आफ्नै भूमि भएर जान निकै कठिन छ । तिङ्कर सडकमा गाडी चल्दैन् । खाद्य डिपोमा चामल छैन् । कुनै स्थानीय पसलमा चामल भेटिए पनि चर्को मुल्य बृद्धिका कारण स्थानीयले किन्न सक्ने अवस्था छैन् । गाउँपालिकाका सबै वडामा खाद्यान्न अभाव उत्पन्न भएको छ ।
तुइन प्रकरणको छानविन गर्न गठित सरकारको छानविन समितिलाई मालका स्थानीयले गाउँमा खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । तुइन हुदा दिनहु भारतीय बाटो हुदै गाउँमा खाद्यान्न ढुवानी हुने गरेको थियो । तर, अहिले तुइन काटिएपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन् ।
नेपालतिरको जोखिम बाटो भएको कारण उपभोग्य सामान ल्याउन कठिनाइ भएको छ । नजिकिदै गरेका चाडपर्व कसरी मनाउने भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर दैनिक छाक टार्न पनि यस क्षेत्रका स्थानीयहरुलाई धौँधौँ परेको छ ।
दुम्लीङका स्थानीय प्रभात बुढाथोकीले तीन दिन पैदल हिडेर सदरमुकामबाट सामान ल्याउन सक्ने अवस्था नरहेको बताउनु भयो । विगतमा समान सकिनेबित्तिकै माहाकालीपारि भारतका पसलमा गएर समान ल्याइन्थ्यो । अहिले भारतीय पक्षले तुइन हटाइ दिएपछि खाद्यान्य अभाव हुदा गाउँलेको भेला गरेर तत्काल हेलिकप्टरमार्फत भएपनि खाद्यान्न ढुवानी गर्न गाउँपालिका र सरकारसँग माग गरिएको उहाँले बताउनु भयो ।
गौरापर्वलगायतका चाडपर्व नजिकिदै गरेका बेला नुन, तेल, चमाल, पिठोलगायत खाद्यान्य अभाव भएको बुढाथोकीले गुनासो गर्नु भयो ।
व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले गाउँमा खाद्यान्न अभाव भएपछि व्यासको तिङ्कर र दुम्लीङमा खाद्य विक्री केन्द्र स्थापना गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ज्ञापन–पत्र बुझाएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘नेपालबाट तिङ्कर पुग्न बाटो छैन् । जसका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । तत्काल हेलिकप्टरको व्यवस्थापन गरेर भएपनि गाउँपालिकाका चार ओटा वडाहरुको लागि खाद्यान्न ढुवानी गर्न माग गरेको छु ।’