बलात्कारपछि जन्मेको शिशुको हत्या गरेको कसुरमा जिल्ला अदालतबाट सर्वश्वसहित कैद फैसला सुनाइएका आवुँखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडाका ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि गिरफ्तार गरेको छ ।
घटनापछि ‘फरार’ रहेका सार्कीलाई साउन २७ गते प्रहरीले घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले बताउनु भयो ।
बलात्कारपछि गर्भमा रहेको शिशुको गर्भपतनका लागि औषधि खुवाए पनि उक्त शिशु जिवित जन्मेपछि तत्कालै खरबारीमा लगेर शिशुको घाँटी थिचेर हत्या गरेको कसुर तथा बलात्कार पीडित महिलाको बयान र स्थानीय भानुभक्त भट्टराईको उजुरीपछि तनहुँ जिल्ला अदालतमा दर्ता भएको मुद्दामा जिल्ला अदालतले सार्कीलाई २०६० वैशाख ११ गते सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सो मुद्दालाई पुनरावेदन अदालतल पोखराले २०६० कात्तिक १८ गते सदर गरेको थियो ।
घटनापछि फरार रहेका सार्कीलाई खोजी गरिएपनि फेला परेका थिएनन् । साउन २७ गते गिरफ्तार भएका सार्कीलाई सोही दिन जिल्ला अदालतमा उपस्थित गराई सजायका लागि जिल्ला कारागार पठाइएको डिएसपी तिमल्सिनाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
शिशु हत्या घटनामा संलग्न रहेको कसुरमा बलात्कार पीडित महिला यसअघि नै सजाय पूरा गरी रिहा भइसकेको डिएसपी तिमल्सिनाले जानकारी दिनु भयो ।