नेपाल पत्रकार महासङ्घका पुर्व कोषाध्यक्ष एवम् रेडियो जनकपुरका सञ्चालक समितिका अध्यक्षसमेत रहेका जनकपुर उमनपा-८ का ५२ वर्षीय शितल साह र इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष सुरेश यादवलाई फागुन ११ गते मधेसी मोर्चाका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन फागुन १० गते जनकपुर आइपुगेका एमालेका उपाध्यक्ष एवम् पुर्व गृहमन्त्री बामदेव गौतमलाई फागुन ११ गते बिहानैदेखि एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरूले घेराउ गरेपछि एमाले र मोर्चाका कार्यकर्ताबिच झडप समेत भएको थियो ।
स्थानीय तह निर्वाचनको विरोधमा मधेसी मोर्चाले आयोजना गरेको मधेस बन्दका समयमा मधेस झरेको भन्दै एमाले नेतामाथि आक्रमण प्रयास गरेको खबर पाएपछि समाचार सङ्कलनका लागि महासेठका घर पुगेका पत्रकार साहमाथि मोर्चा कार्यकर्ताले आक्रमण गरेका थिए । साहलाई जोगाउन पुगेका निगरानी समूहका अध्यक्ष यादवमाथि समेत मोर्चाका कार्यकर्ताले आक्रमण गरेको पीडित यादवले बताए । घाइते साहको उपचार जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
झपडमा मोर्चाका दुई र एमालेका एक जना कार्यकर्तासमेत घाइते भएका छन् । दुवै तर्फबाट ढुङ्गामुढा भएपछि सद्भावना पार्टीका गाउँ इकाइ कमिटी रघुनाथपुरका अध्यक्ष ३५ वर्षीय राजकुमार साह र रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर विद्यार्थी मञ्चका उपाध्यक्ष २२ वर्षीय कुलदीप साह र एमालेका कार्यकर्ता लालबहादुर लहेरी घाइते भएका छन् । राजकुमारको गोडामा, कुलदीपको निधार र लालबहादुको कानमा चोट लागेको छ । घाइतेहरूको उपचार जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
मोर्चाका कार्यकर्ताहरूले एमालेका नेता रघुवीर महासेठको घरमासमेत ढुङ्गामुढा प्रहार गरेका छन् ।