मुसिकोट नपा-६ का १३ वर्षीय अशोक शर्मालाई कक्षा कोठामा ढिला आएको आरोपमा फागुन ९ गते यमुनानन्द मावि सेरीगाउँका १९ वर्षीय शिक्षक देवबहादुर बुढाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
कान, मुख र टाउकोमा गम्भीर चोट लागेका घाइतेको प्राथमिक उपचार जिल्ला अस्पतालमा गरिएको र थप उपचारका लागि फागुन ९ गते काठमाडौँ लगिएको पीडित बालकका दाजु महेन्द्र शर्माले बताए ।
घटनामा संलग्न शिक्षकलाई प्रहरीले फागुन ९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अङ्गुर जिसीले बताए ।
बालकले कक्षा कोठामा अभद्र व्यवहार गरेपछि सामान्य सचेत मात्र गराएको शिक्षक बुढाले प्रहरीसमक्ष बताएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा विद्यालय प्रशासनले छानबिन गर्ने जनाएको छ । यमुना नन्द मावि सेरीगाउँका प्राचार्य दामोदर पौडेलले शिक्षकले कुटेको प्रमाणित भए कानुन बमोजिम कारबाही गर्ने बताए ।